दैनिक ३ करोड बढी गुमाउँदै होटल रेष्टूरेन्ट

  भदौ २२, २०७७

चितवन, भदौ २२ : जिल्लामा रहेका होटल रेष्टूरेन्टले दैनिक रु ३ करोड भन्दा वढि गुमाउन वाध्य भएका छन् । पर्यटकीय र सर्बसाधारणलाई सेवा दिंदै आएका जिल्लाका साना ठूला होटल रेष्टूरेन्ट कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण वन्द छन् ।

देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहा सहित जिल्लाका १ हजार २ सय ५० होटल रेष्टूरेन्ट गएको चैत्र यता वन्द छन् । पर्यटन क्षेत्रको अध्यन अनुसन्धान गर्दै आउनु भएका विश्व सुवेदीका अनुसार जिल्लामा पर्यटकीय होटलको संख्या २ सय २५ वटा रहेका छन् । ती होटल मध्ये सबै भन्दा वढि रत्ननगरको सौराहामा १ सय १० वटा रहेका छन् । सौराहा वाहेक रत्ननगर क्षेत्रमा पर्यटकीय होटल संख्या २९ वटा छन् ।

सुवेदीले भरतपुर महानगरमा ६५ वटा, कालिकामा २ वटा ,खैरहनीमा ३ वटा, माडीमा ३ वटा, राप्ती नगरपालिकामा ३ वटा र इच्छाकामना गाउँपालिकामा ११ वटा पर्यटकीय होटल रहेको जानकारी दिनुभयो । ती होटलमा पर्यटकीय मौषममा दैनिक रु १ करोड ५० लाख वढी कारोवार हुने उहाँको भनाइ छ । अन्यमा त्यतिनै व्यपार हुने सुबेदी वताउनुहुन्छ ।

यसका अतिरिक्त पर्यटकीय गतिबिधिहरू जिप सफारी, डुङ्गा सफारी, हात्ती सफारी, वस लगाएतमा रु ३० लाख हाराहारी दैनिक कारोवार हुने व्यवसायीहरू वताउँछन् । सुवेदीले जिल्लामा होटल रेष्टूरेन्टमा १६ हजार मजदुर कार्यरत रहेको अध्ययनले देखाएको जानकारी दिनुभयो । ती होटल रेष्टूरेन्टमा रु ३० अर्ब भन्दा वढि लगानी छ । जस मध्ये ४० प्रतिशत भन्दा वढि वैंकिङ् ऋण रहेको सुबेदी वताउनुहुन्छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई यहाँ चैत देखि असार १५ सम्म पर्यटकीय मौषम मानिन्छ । त्यस पछि भदौ १५ सम्मलाई पर्यटकीय मौषम मानिदैन । त्यतिवेला पनि आधा व्यापार हुने भट्टराईको भनाइ छ । भदौ १५ पछिको यो समय पर्यटकीय मौषम हो ।

उहाँले भन्नुभयो “यो मौषम पनि त्यत्तिकै जाने भो ।” गत वर्षहरूमा यतिवेला सौराहामा पर्यटक राम्रो चहलपहल हुने गर्दथ्यो । अहिले होटल चौकिदारले कुरेर मात्रै वसेका छन् । भट्टराईले गुनासो गर्नुभयो “दशैको समयमा स्वदेशी पर्यटक आउँछन् भन्ने आस थियो । त्यो पनि हरायो ।”

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे बिचमा केही समय होटल खोल्दा झनै नोक्सान भएको बताउनुहुन्छ । बातावरण पूर्ण सहज नभए सम्म होटल खोल्न नहुने भन्दै उहाँले अहिलेको घाटा परिपूर्ती गर्न निकै कठिन भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “बैंकहरूले ऋण थप गरिदिए भने होटलको तिर्नुपर्ने चालु खर्च तिरेर स्तर उन्नती गर्ने तयारीमा छु ।” सबै होटल संञ्चालकहरूको अबस्था घिमिरेको जस्तै रहेको छ ।

व्यवसायीको व्यवसाय मात्रै होईन मजदुरको आवस्था पनि दयनिय वन्दै गएको छ । सबै वेरोजगार भएका छन् । उनीहरू दैनिकी कष्टकर वन्दै गएको छ । ट्रेड युनीयन काङ्ग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा मजदुरको अबस्था निकै दयनिय भएको वताउनुहुन्छ । होटल रेष्टूरेन्टमा काम गर्ने मजदुरहरूले तलव पाउन नसक्दा दैनिकी चलाउन नै मुस्किल परेको सापकोटाको भनाइ छ ।

जिल्लामा आन्तरिक र वाह्य पर्यटक कति आउँछन् बास्तिबिक तथ्याङ्गक छैन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्नेहरू वार्षिक २ लाख हाराहारी छन् । निकुञ्ज नघुम्ने तर जिल्लामा आउने कुल संख्या ५ लाख माथि हुने गरेको व्यवसायी वताउँछन् ।

थला पर्ने अवस्थामा सौराहाको पर्यटन
नेपालको पर्यटनको महत्वपूर्ण हिस्सा ओगटेको सौराहा कोभिड–१९ का कारण थला पर्ने अवस्थामा पुगेको छ । करिब ३ महिनाको लामो लकडाउनपछि विस्तारै होटलहरू सञ्चालनमा आउन थालेको भएपनि पछिल्लो समय जारी भएको निषेधाज्ञासँगै यहाँको पर्यटन थला नै परेको व्यवसायीहरू बताउँछन् ।

जारी निषेधाज्ञा भन्दाअघि सौराहाका केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएसँगै यहाँको स्थानीय तहले यस क्षेत्र सिल गरेको थियो । तर, अहिले सौराहा कोरोनामुक्त भइसकेको छ । चैत्रको दोस्रो सातादेखि नै यहाँका होटल तथा रेष्टुरेष्टहरू बन्द छन् ।

कोरोना भाईरसको त्राससँगै फट्टा–फुट्टा मात्र अन्तरिक पर्यटक आउने गरेका थिए । अफसिजनको समयमा बाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटकले धानिदै आएको सौराहामा लामो समयको बन्दाबन्दीले गर्दा यहाँका व्यवसायीहरू निराश बनेका छन् । सौराहामा असारदेखि असोजसम्मको समय अफ सिजनका रूपमा लिइन्छ । व्यवसायभन्दा पनि स्वास्थ्य ठूलो भएको भन्दै असोजसम्म नै होटल बन्द गर्ने निष्कर्षमा पुगेका होटल व्यवसायीहरू बैंकको कर्जाका कारण चिन्तित बनेका छन् ।

पर्यटन व्यवसायी टिकाराम गिरीले पर्यटन व्यवसायको अम्दानीलाई नै आयस्रोत देखाएर बैंकबाट कर्जा लिएको बताउनुभयो । पर्यटक नभएपछि अहिले सबै जसो होटल तथा रेष्टुरेष्टहरूमा ताला लागेको उहाँको भनाइ छ । ‘बैंकको ब्याज तिर्न नसक्दा ठुलो मर्का परेको छ,’ उहाँले भन्नुभयो, ‘राज्यले ब्याजमा छुट हुने भनेपनि त्यसो भएन । कर्जाका कारण पर्यटनका संरचना जोगाएर राख्नै कठिन भयो ।’

बैंकबाट कर्जा लिएर पर्यटन संरचना बनाई रहनु भएका व्यवसायी नगेन्द्र चापागाईको पीडा पनि उस्तै छ । उहाँ अहिले एकपटक २ हजार जना अटाउने सभाहल निर्माण गर्दै हुनुहुन्छ । सभाहलको निर्माण कार्य त रोकिएको छ नै यो भन्दा चिन्ता उहाँलाई बैंकको ब्याज भएको छ ।

पर्यटन व्यवसायीलाई राज्यले राहत दिनुपर्ने उहाँ बताउनुहुन्छ । यति लामो समयसम्म बन्दाबन्दी हुन्छ भन्ने सोचेका थिएनौँ, उहाँले भन्नुभयो, ‘कोरोनाले अझै केही समय पर्यटक आउने वातावरण नबन्ने भएकाले यहाँको पर्यटन थला परिसकेको छ । व्यवसायी साथीहरू होटलहरू विक्री गर्नेसम्म पुग्नु भएको सुनेको छु ।’

अर्का व्यवसायी रमेश दाहाल कोरोनाले अति प्रभावित भएको क्षेत्र पर्यटन भएको बताउनुहुन्छ । सरकारले ब्याजमा छुट गर्न बैंकहरूलाई आह्वान गरेसँगै चैत्र, बैशाख र जेठ महिनामा २ प्रतिशत छुट पाएको उहाँको भनाइ छ । असारदेखि बैंकहरूले कुनै छुट नदिएपछि ब्यवसाय थप धरासीय बनेको बताउनुभयो । पर्यटन क्षेत्रलाई जोगाउन सरकारको ध्यान पुग्न जरुरी रहेको छ–उहाँले भन्नुभयो ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले पर्यटन वर्ष २०२० मा चितवनमा मात्रै ४ लाख पर्यटक भित्र्याउने गरी बैंकबाट कर्जा लिई संरचना निर्माण काम थालिएको बताउनुभयो । अहिले बैंकबाट आउने ताकेताले मानसिक असर परेको छ, उहाँले भन्नुभयो,‘ न साँवा फिर्ता गर्न सक्छौ, न त ब्याज नै । होटल खोलेर मात्रै पनि भएन । अहिले पर्यटक आउने सम्भावना नै छैन ।’

विद्युतको महशुल बुझाउन नसक्ने अवस्थामा व्यवसायी पुगेको उहाँ बताउनुहुन्छ । विद्युत महशुल बुझाउन नसकेपछि विद्युत प्रधिकरणले लाईन काट्न सुरु गरेको–उहाँले भन्नुभयो ।

थला परेको यहाँको पर्यटन व्यवसाय उठ्न करिब दुई वर्ष लाग्ने उहाँको भनाइ छ । यसको सहजीकरणका लागि सरकारले रि–लोनको व्यवस्था गरी बैंकको किस्ता पछि तिर्न मिल्ने गरी नीति ल्याउन जरुरी छ । अध्यक्ष भट्टराईले साना र ठुला पर्यटन व्यवसायीलाई समान रूपमा यो सुविधा दिन जरुरी छ । नेपालको तेस्रो पर्यटकीय क्षेत्रको रूपमा परिचित सौराहामा साना ठुला गरी १ सय २० वटा होटल तथा ५७ वटा रेष्टुरेष्ट रहेका छन् ।

तपाईको प्रतिक्रिया