हेटौँडा, ५ फागुन : वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा-धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतीय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका साथ प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्न लागेको हो ।
प्रदेश सरकारले ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको जनाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय बसको सञ्चालनले प्रदेशलाई समृद्ध बनाउने बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले यस्ता गौरवका योजना छिटो नै सम्पन्न गरेर समृद्ध प्रदेश निर्माण गर्नेछ । उहाँले सरकारले दुई वर्षभित्र समृद्धितर्फ जाने गौरवका योजनाको डिपिआर बनिसकेको र अबका वर्षमा तीव्रताका साथ निर्माण गरिने बताउनुभयो ।
२०७७ भित्र प्रदेशमा विद्युतीय बस सञ्चालन गर्न सरकारले प्रदेश सभा सदस्य दीपक निरौलाको संयोजकत्वमा भौतिक योजना मन्त्रालयअन्तर्गत विद्युतीय सवारी साधन सरसफाइ सामग्री खरिद सहजीकरण समिति बनाएर कामलाई तीव्रता दिएको जनाइएको छ । फागुन दोस्रो हप्ताभित्र बिजुली बस खरिदका लागि ग्लोबल टेन्डर खोल्ने तयारी भइरहेको संयोजक निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयलाई प्रतिवेदन बुझाउने बित्तिकै विद्युतीय बस खरिद गर्न ग्लोबल टेन्डर निस्किने छ । प्रदेश मन्त्रिपरिषद्ले दुई महिनाअघि प्रदेश यातायात निगम गठन सम्बन्धमा संघीय सरकारलाई अनुरोध गरिसकेको उहाँले जानकारी दिनुभयो । निरौलाका अनुसार संघीय सरकारले यातायात निगम गठन गर्ने अनुमति दिएपछि प्रदेश यातायात निगम विधेयक प्रदेशसभामा पेश हुनेछ । बिजुली बस हेटौँडा–नारायणगढ–काठमाडौं हुँदै धुलिखेलसम्म सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ ।
समितिले यही फागुन ६ गतेसम्म प्रदेशको भौतिक योजना मन्त्रालयलाई विद्युतीय बस सञ्चालनसम्बन्धी प्रतिवेदन दिने संयोजक निरौलाले जानकारी दिनुभयो । प्रतिवेदनमा बिजुली बस सञ्चालन प्रक्रिया, बस सञ्चालन हुने रुट, चार्जिङ स्टेशनलगायत विषय समेटिने र समितिअन्तर्गत दुईवटा उपसमिति गठन गर्दै बिजुली बस सम्बन्धमा छलफल भइरहेको उहाँको भनाइ छ ।