सांसद उपाध्यायको निधनले अपूरणीय क्षति : देउवा

  फागुन ०५, २०७६

काठमाडौं, ५ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

काँग्रेस संसदीय दलले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले स्व उपाध्याय गाउँमै जनतासँग काम गर्न रुचाउने नेता भएको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । राष्ट्रवादी र प्रजातन्त्रवादी छविका नेता उपाध्यायले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा सक्रिय योगदान पु¥याउनुभएको सभापति देउवाले उल्लेख गर्नुभयो ।

श्रद्धाञ्जली सभामा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले उपाध्यायको निधनले मर्माहित तुल्याएको बताउँदै राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानका कारण उहाँको सधैँ चर्चा हुने उल्लेख गर्नुभयो । पार्टीका कोषाध्यक्ष सीतादेवी यादवले अल्पायुमै निधन हुनुभएका उपाध्यायले आफ्नो जीवनकालमा गर्नुभएको राजनीतिक र सामाजिक योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले स्व उपाध्याय केन्द्रमा भन्दा जिल्लामै जनताका विकास निर्माणका काममा व्यस्त रहँदै आउनुभएको उल्लेख गर्दै तराई क्षेत्रमा ठूलो प्रभाव भएका नेता काँग्रेसले गुमाउँदा पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभयो ।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रजातान्त्रिक आन्दोलन र पार्टी संगठनमा ठूलो योगदान गर्नुभएका होनाहार नेता पार्टीले गुमाएको उल्लेख गर्दै उपाध्यायले प्रतिकूल अवस्थामा पनि जिल्ला मै बसेर पार्टी संगठनका लागि गरेको योगदान स्मरण गर्नुभयो । सार्वजनिक लेखा समितिका सभापति एवं काँग्रेस नेता भरत शाहले मधेशको खम्बा, जुझारु पार्टीका नेता गुमाउनुपर्दा मर्माहत भएको बताउनुभयो ।

क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा गृहजिल्ला रुपन्देहीमा यही फागुन २ गते निधन भएको थियो । विसं २०२६ मा जन्मनु भएका उपाध्याय विसं २०४६ सालका जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आउनुभएको थियो । विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो भने उपाध्याय काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशन कार्यकाल क्षेत्रीय सभापतिसमेत हुनुहुन्थ्यो ।

२०७४ मा उहाँ काँग्रेसका तर्फबाट प्रदेश ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । सामाजिक क्षेत्रमा समेत योगदान गर्नुभएको उहाँ हाल लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य तथा विभिन्न समाजिक संघसंस्थामा संलग्न रहँदै आउनुभएको थियो । श्रद्धाञ्जली सभाले उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया