समयमा आपूर्ति नगर्दा मल अभाव

  भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : सरकारलाई युरिया मल आपूर्ति गरिदिने ठेक्का लिएका कम्पनीले सो मल तोकिएको समयमा आपूर्ति नगर्दा मलको अभाव भएको छ ।

कृषि विकास मन्त्रालय अन्तर्गत रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले हालसम्म मल आपूर्ति गर्न सकेका छैनन् । पुस–माघमा ठेक्का हात पारेका ती दुई कम्पनीले भदौ २० गतेसम्म सम्पूर्ण मल आपूर्ति गरिसक्नुपर्ने थियो तर हालसम्म आपूर्ति गर्न नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

ती दुई कम्पनीले २५–२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका थिए । यो सिजनमा कम्तीमा ५० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ र त्यति नै मात्रामा ती कम्पनीले समयमा आपूर्ति नगर्दा किसानले समस्या भोग्नुपरेको कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताउनुभयो । कृषि सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले भदौ २० गतेसम्म मल आपूर्ति गर्ने सम्झौता थियो तर हालसम्म आपूर्ति हुने अवस्था छैन भन्दै अब आफूहरू कानुनी उपचारमा जाने बत(ाउनुभयो । ती कम्पनीका बारेमा कानुनी परामर्श लिने काम भइरहेको र कानुन अनुसार कारबाही गर्ने उहाँले बताउनुभयो ।

सञ्चालक भण्डारीले मल हाहाकार हुनुको मुख्य कारण कोरोनाको महामारी नै भएको र दोस्रो कारण कम्पनीले समयमा आपूर्ति नगर्नु हो । चैतदेखि यता कोरोना महामारी सुरु भएको हो, त्यसअघि छ महिना कम्पनीले के गरे, अहिले आएर कोरोनाको बहाना बनाएर हुँदैन भन्नुभयो ।
कोरोनाका कारण समस्या हुन्थ्यो भने साल्ट टे«डिङ कर्पोरेसनलाई पनि हुन्थ्यो तर साल्टले पाएको कोटा अनुसार आफ्नो मल ल्याउन सफल भएको छ ।

आफ्नो कोटाको साढे २२ हजार टन युरिया टेन्डर गरेर जेठ पहिलो साता नै भारतको कोलकाता बन्दरगाहसम्म ल्याइसकेको थियो । कोरोना महामारीले लगाइएको बन्दाबन्दीका कारण केही समय उतै रोकियो तर अहिले साल्ट टे«डिङले बिस्तारै त्यो मल आयात गरिरहेको छ । वीरगञ्ज र विराटनगर नाकाबाट तीन हजार मेट्रिक टन मल आइसकेको छ भने अरू आउने क्रममा रहेको साल्टले जनाएको छ । यसरी एउटा कम्पनीले ल्याउँदा अर्को कम्पनीले ल्याउन नसक्दा प्रश्न उठेको जनाइएको छ ।

कृषि तथा पशुुपक्षी मन्त्रालयले मलको हाहाकार नहोस् भनेर सरकार सुरुदेखि नै सचेत थियो तर ठेकेदारले मल ल्याउने कबोल गरे पनि नल्याएपछि के गर्ने ?, मन्त्रालयका प्रवक्ता डा. केसीले यी कम्पनीविरुद्ध कानुनी उपचार खोजिने छ भन्नुभयो । कृषि सामग्री कम्पनीले गत पुस र माघमा ५० हजार मेट्रिक टन युरिया ल्याउन बोलपत्र आह्वान गरेको थियो ।

सो बोलपत्र शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल कम्पनीले सस्तोमा कबोल गरेका थिए । यी दुई कम्पनीले सस्तोमा बोलपत्र कबोल गरेकै कारण यो लफडा भएको कृषि सामग्री केन्द्रका सम्बन्धित अधिकारी बताउँछन् । सस्तो दरमा बोलपत्र कबोल गरिहाले तर त्यसमा घाटा हुने देखिएपछि सुरुदेखि नै ती कम्पनीले मल ल्याउन आनाकानी गरेको जनाइएको छ ।

कृषि सामग्री कम्पनी लि. का अनुसार सैलुङ इन्टरप्राइजेजले प्रतिटन ३२०.२५ डलर प्रतिमेट्रिक टन र होनिको कम्पनीले प्रतिटन ३०९.९० डलरमा युरिया मल ल्याउने गरी ठेक्का पाएका थिए ।

पैँचो मलबारे जवाफको प्रतीक्षा
यसैबीच कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल सरकारले बङ्गलादेशसँग पैँचो मागेको ५० हजार टन युरिया मलबारे बङ्गलादेश सरकारको जवाफको प्रतीक्षामा छ । मल आउने कि नआउने भन्ने सम्बन्धमा सरकार बङ्गलादेशको प्रतिक्रियाको प्रतीक्षामा रहेको हो । कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत युरिया मल पैँचो माग्दै बङ्गलादेशको कृषि मन्त्रालयलाई पठाएको भए पनि हालसम्म त्यसको कुनै जवाफ नआएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया