भैंसी साहुको खनाति पनि भैंसी पालनमा, मासिक दुई लाख कमाइ

  भदौ १८, २०७७

तनहुँ, भदौ १८ : तनहुँको शुक्लागण्डकी नगरपालिका १० मिनामखानीमा एक कृषकले व्यावसायिक रुपमा भैंसी पालेर मनग्गे कमाउन सफल हुन भएको छ । तीन वर्ष अघिदेखि भैंसीपालन व्यवसाय शुरु गर्नु भएका खड्काले एक सय वटा मुर्रा जातका भैंसी पाल्नु भएको छ ।

दैनिक दुई सय लिटर दूध बेचेर मासिक दुई लाख बचत भएको खड्काले बताउनुभयो । उत्पादित दूध स्थानीय खैरेनीटार, दुलेगौँडा बजारमा बिक्री गर्दै आउनु भएको छ । प्रति लिटर ११० रुपियाँमा दूध बिक्री हुने गरेको र फर्ममा १३ जनाले प्रत्यक्ष रोजगारी पाएको खड्काले जानकारी दिनुभयो । खड्काका हजुरबुबालाई भैसी साहुका नाति भन्थे त्यही सुन्दासुन्दै आफूले पनि भैसी पालेको खड्काले बताउनुभयो ।

खड्काले मल्टी एग्रो प्रा.लि.दर्ता गरी एक सय रोपनी क्षेत्रफलमा कृषि, पशुपालन, पर्यटनलाई सँगसगै लैजाने लक्ष्यका साथ पूर्वाधारहरु निमार्ण गर्नुभएको छ । प्राङ्गारिक कृषि उत्पादनसँगै भैंसीका अतिरिक्त लोक कुखुरा पालन, होमस्टे सञ्चालन गर्ने गरी लगानी गर्नुभएको छ । खड्काले उक्त क्षेत्रलाई एग्रोटुरिजम रुपमा विकास गर्ने मूख्य उद्धेश्यले घुमाउने घरदेखि तालिम, सेमिनार, गोष्ठी सञ्चालन गर्न सकिने सभाहल समेत निमार्ण गर्नु भएको छ ।

खड्काले दूध, फलफूल, तरकारी, एग्रो टुरिजम र होमस्टेमा गरी पाँच वटैलाई एकै साथ गरी नेपालकै नमुना फर्म बनाउन लागि परेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । खड्काको फर्मका लागि प्राविधिक सहयोग, औजार उपकरण, घास काट्ने, दाना पिस्ने, घास ढलाउने मेसिनहरु उपलब्ध गराएको डा। श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेष्ठका अनुसार दूध चिस्यान केन्द्र चिलिङ भ्याट लगायतका उपकरणको लागि १० लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ ।

साथै खड्काको भैसी फर्मका लागि नश्ल सुधार गर्न, उन्नत राँगोको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । दूधको माग बढी रहेकोले विक्रीको लागि कुनै समस्या नभएको खड्काले जानकारी दिनुभयो । फर्ममा सात करोड रुपियाँ लगानी भईसकेको खड्का बताउनुहुन्छ । तीन करोड रुपियाँ लगानी थप गरेर आम्दानी दोब्बर गर्ने लक्ष्य रहेको खड्काले बताउनु भयो ।

खड्काले शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा बजारमा सुपर मार्केट, हस्पिटलमा पनि लगानी गर्नु भएको छ । विदेशी समान बेचेर भन्दा स्वदेशमै उत्पादन गरी विक्री गर्दा देशलाई फाईदा हुने सोचेर कृषि क्षेत्रमा लगानी गरेको खड्काले बताउनुभयो । ‘बिदेशी समान बेचेर धनी हुनु भनेको सुनिएर मोटाए जस्तै हो खड्काले भन्नुभयो, अरु क्षेत्रमा लगानी गरे धेरै कमाउन सकिन्थ्यो कृषि क्षेत्रमा लगानी गर्दा देशको अथतन्त्रमा पनि टेवा पुग्छ भनेर लगानी गरेको हुँ’ ।

तपाईको प्रतिक्रिया