लकडाउनको सदुपयोग गर्दै च्याउबाट आत्मनिर्भर बन्दै युवा

  भदौ १८, २०७७

सिन्धुपाल्चोक, भदौ १८ : लकडाउनको समयलाई सदुपयोग गर्दै त्रिपुरासुन्दरी गाउँपालिका २ चोकटीका युवाहरु च्याउ खेती गरेर आत्मनिर्भर हुन थालेका छन् । चोकटीको लागार्चेमा १० रोपनी जग्गा भाडामा लिएर युवाहरुले कन्या च्याउको व्यवसाय शुरु गरेका छन् ।

विदेश गएर अर्काकै देशमा रगत पसिना चुहाएर काम गर्नु भन्दा आफ्नै गाउँमा सानोतिना ब्यबसाय गरेपनि आत्मनिर्भर हुन सकिने आशामा युवाहरुले च्याउ खेती शुरु गरेको बताएका छन् । अहिले उनीहरुले १२ वटा टनेलमा च्याउ खेती गरेका छन् । १० लाख लगानीबाट शुरु गरेको उक्त च्याउ खेतीको उत्पादन पनि अति राम्रो भएको उनीहरुले जनाएका छन् ।

च्याउ धमाधम उत्पादन हुन थालेको छ । उत्पादन गरेको च्याउमा कुनै पनि बिषाधी नमिसाइएको सुवास राउत बताउनु हुन्छ । दैनिक ३ सय देखि पाँच सय किलो सम्म च्याउ उत्पादन भईरहेको छ, ती च्याउलाई पाँचखाल र राजधानीको डिलरमा लगेर बिक्री गर्ने गरिएको सुवासले जानकारी दिनुभयो । अर्गानिक च्याउ उत्पादन गरेकै कारण स्थानीय र राजधानीका बजारमा माग बढेको छ अर्का युवा सबिन राउतले बताउनु भएको छ ।

२०७६ फागुनबाट युवाहरुले सुरा कृषि प्रालिले नामबाट उत्पादन गरेको च्याउ प्रतिकेजी १५० रुपियाँमा स्थानीय बजारमा नै बिक्रि हुदै आएको छ । तराईबाट पराल ल्याई त्यसलाई पानीमा उमालेर बल बनाई कन्या च्याउको बीउ उमारेर स्वादिष्ट च्याउ उत्पादन गरेको युवाहरुले जनाएका छन् । उनीहरुले उत्पादन गरेको च्याउको माग दिन दिनै बढ्न थालेको छ । राउत युवाहरु मिलेर ब्यबसायिक रुपमा च्याउ खेती गरेर मनग्गे आम्दानी हात पार्र्न थालेपछि अन्य युवाहरु पनि बिभिन्न ब्यबसायिक खेतीमा लाग्न शुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया