नेपालगञ्जमा पनि ‘प्लाज्मा थेरापी’बाट कोरोना सङ्क्रमितको उपचार शुरु

  भदौ १५, २०७७

नेपालगञ्ज, भदौ १५ : नेपालगञ्जमा पहिलो पटक सोमबारबाट प्लाज्मा थेरापी विधिमार्फत कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको छ ।

भेरी अस्पतालमा उपचार गराइरहेका सल्यान जिल्लाका एक जना गम्भीर अवस्थामा रहेका सङ्क्रमितलाई नेपालगञ्ज उपमहानगर–१ का वडा अध्यक्ष प्रमोद रिजालले रगत दिएपछि प्लाज्मा निकालेर कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।

प्लाज्माका लागि नेपालगञ्जमा रगत दिने पहिलो व्यक्ति पनि वडा अध्यक्ष रिजाल नै बन्नुभएको छ ।

सल्यान शारदा(६ का २९ वर्षीय सङ्क्रमित युवकको अवस्था गम्भीर भएकोले उहाँको उपचारका लागि प्लाज्मा आवश्यक परेकोले २८ दिनअघि सङ्क्रमित भई उपचारपछि घर फर्किनुभएका वडा अध्यक्ष रिजालले प्लाज्मा निकाल्न रगत प्रदान गर्नुभएको हो ।

भेरी अस्पतालका प्लाजा थेरापीका सम्पर्क व्यक्ति डा। खगेन्द्रजङ्ग शाहले सल्यानका २९ वर्षीय युवक सङ्क्रमित भइ निमोनियासमेत भएको र अक्सिजनको लेबल पनि धेरै कम रहेकोले भन्टिलेटरमा राख्ने अवस्था आउनै लागेको बेला उनलाई प्लाज्मा दिन लागिएको बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा उपचार गराइरहेका ती सङ्क्रमितलाई समस्या भएपछि निको भएर आएका बी पोजेटिभ रगत दिने दाताको खोजी गरिएको थियो ।
वडा अध्यक्ष रिजालको पनि रगत समुह बी पोजिटिभ नै भएकोले उहाँ दिन तयार हुनुभएको हो ।

सम्पर्क व्यक्ति डा. शाहले प्लाजा थेरापीका लागि रगत दिँदा कुनै समस्या नहुने भएकोले सङ्क्रमित भएर निको हुनुभएका सबैलाई रगत दिन आग्रह गर्नुभयो ।

प्लाज्मा थेरापीका लागि पहिलो पटक रगत दिने वडा अध्यक्ष रिजालले रगत दिँदा आफूलाई कुनै समस्या नभएको र अरुलाई बचाउने दायित्व सम्झिएर रगत दिएको जनाउँदै अरुलाई पनि अगाडि आउन आह्वान गर्नुभएको छ ।

पहिलो पटक प्लाजा थेरापी गर्न रगत सङ्कलन गर्ने अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँकेका वरिष्ठ कार्यक्रम अधिकृत दोलख डाँगी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाह, भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, रेडक्रस सोसाईटीका मन्त्री अजिज अहमद सिद्दिकी, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठ, ब्लड बैङ्कका प्रमुख उपेन्द्र रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया