प्राविधिक समस्यामा पनि नेप्से बढ्यो

  भदौ १५, २०७७

काठमाडौँ, भदौ १५ : नेपाल स्टक एक्सचेन्जमा प्राविधिक समस्या आउँदाआउँदै पनि आइतबार नेप्से परिसूचक उकालो लागेको छ ।

नेप्से कारोबारमा आइतबार १२ः०० बजेदेखि नै केही ब्रोकरका अर्डर नजाने र केही ब्रोकरको अर्डर दोहोरिने समस्या भएपछि उक्त समस्या समाधानका लागि ३ः१५ बजेसम्मका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुन ५ः१५ बजेसम्म खुलेको बजारमा नेप्से परिसूचक १४६२.६७ को बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.८० अङ्कले ओरालो लागेर २९६.२९ मा सीमित भएको छ । समग्रमा नेप्से ०.३२ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.२७ प्रतिशतले ओरालो लागेको छ ।

साताको पहिलो दिन १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर किनबेच हुँदा कुल एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार तीन सय रुपियाँको कारोबार भएको छ । कारोबारमा आएका १२ समूहमध्ये बैङ्किङ, विकास बैङ्क, म्युचुअल फन्डबाहेक अन्य उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहका परिसूचक ९४.३ अङ्कले उकालो लागेको छ । त्यस्तै जीवन बीमा समूह ४६.३२ अङ्कले उकालो लागेको छ ।

सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ३४ करोड ३२ लाख रुपियाँको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७७० रुपियाँ कायम हुन पुगेको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैङ्कको ११ करोड ८४ लाख रुपियाँभन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४०५ रुपियाँ कायम भएको छ । नेको इन्स्योरेन्स र शिवम् सिमेन्ट पनि उच्च कारोबार गर्नेमा परेका छन् । आइतबारको कारोबारबाट पुनर्बीमा कम्पनीकोे सेयरमा सकारात्मक सर्किट लागेको छ ।

तपाईको प्रतिक्रिया