‘अन्नपूर्ण आधार शिविरमा पर्यटकलाई कुनै असुविधा छैन’

  फागुन ०३, २०७६

कास्की, ३ फागुन : अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटन व्यवसायमा सक्रिय छोम्रोङ पर्यटन व्यवस्थापन समितिले विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी)मा पुग्ने पर्यटकलाई अब कुनै प्रकारको असुविधा नरहेको स्पष्ट पारेको छ ।

गत माघ ३ गते पदयात्रा मार्गको हिंकुकेभ र देउरालीको बीच भागमा हिमपहिरो जाँदा कोरियाली पर्यटक र नेपाली नागरिक गरी सात जना बेपत्ता भएपछि अहिले पदयात्रा मार्ग पूर्ववत् अवस्था फर्किएको र पदयात्री पर्यटक आधार शिविरमा पुग्न थालेको बताइएको छ ।

समितिले आज एक वक्तव्य जारी गरी हिमपहिरोले बन्द भएको अन्नपूर्ण सेञ्चुरी पदमार्ग पुनःसञ्चालनमा आएको, घान्द्रुकबाट छोम्रोङ हुँदै एबिसीसम्म पदयात्री पर्यटक पुग्न थालेको र पदमार्गमा पर्ने सम्पूर्ण होटल खुलिसकेको जनाएको छ । समितिका अध्यक्ष बुद्धिमान गुरुङले हिमपहिरो आएपछि होटल बन्द गरेर पोखरा गएका कामदारसमेत पुनः होटल फर्किसकेको तथा मौसम सफा भएको र हिउँ घटिरहेकाले पदमार्ग सुरक्षित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “होटल सञ्चालक र कामदार फर्किसकेकाले पर्यटकलाई कुनै असुविधा हुँदैन नेपाल भ्रमण वर्ष सन् २०२० चलिरहँदा हामी आन्तरिक र बाह्य पर्यटकलाई आतिथ्यता दिन आतुर छौँ ।” समितिको अग्रसरतामा हिमपहिरो गएको ठाउँमा हिँड्न मिल्ने गरी बाटो बनिसकेको र अन्यत्रसमेत कुनै कठिनाइ नरहेको बताइन्छ ।

हिमपहिरो पछि हालसम्म १७ पर्यटक, पथप्रदर्शक र सहयोगी एबिसी पुगिसकेको समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो । पदमार्गको झिँनु, घुर्सुङ, किम्रोङखोला, छोम्रोङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छे« बेस क्याम्प (एमबिसी) र एबिसीमा गरी ६० होटल सञ्चालनमा छन् ।

समितिले एबिसी आउने पर्यटकलाई मौसम पूर्वानुमान, स्थानीय व्यवसायी र अनुभवी गाइडसँग समन्वय गर्न भने आग्रह गरेको छ । सचिव गुरुङले हिमपहिरोमा बेपत्ता पर्यटकको खोजी कार्य अहिले पनि जारी रहेको र घटनास्थलमा निरन्तर निगरानी गरिरहेको जानकारी दिनुभयो । हिउँ पग्लने क्रम शुरु भएकाले छिट्टै बेपत्ताको अवस्था पत्ता लाग्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया