स्याङ्जामा पसाउन लागेको धानमा खपटे कीराको प्रकोप

  भदौ १४, २०७७

स्याङ्जा, भदौ १४ : भीरकोट नगरपालिका-५ को पकान फाँट, डौवा फाट र वालिङ्-४ को गैरा थोकमा पसाउन लागेको धानमा राईस हिस्पा (खपटे कीरा ) को प्रकोप देखिएको छ ।

डौवा फाँटको एक सय रोपनी र गैराथाोकको ५० रोपनीको धानसमेत कीराले खाएपनि पकान फाँटजस्तो क्षति नभएकाे किसानले बताएका छन् । एक महिनादेखि यहाँको धानमा कीराको प्रकोप देखिएपछि विषादी छर्किएको छ ।

सबैभन्दा धेरै पकान फाँटमा करिब एक सय घरधुरीको चार सय रोपनी क्षेत्रफलको धानखेतीमा कीराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयमा कीटनाषक औषधी छर्किएको हो ।

राईस हिस्पा (खपटे कीरा )ले धानका पात खाएर परालजस्तै बनाइदिएको कृषक कृष्ण पौडेलले बताउनुभयो । पहिलो चरणको अनुगमनपछि निमको झोल राख्ने सल्लाह अनुसार किसानले निमको झोल राखेका पौडेलले बताउनुभयो ।  झोलले कुनै प्रभाव नदेखिएपछि कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारीको नेतृत्वमा कृषि विज्ञ, वडा अध्यक्ष कृषकको अनुगमनपश्चात दोस्रो चरणमा कीटनाशक विषादी कोलोरो पाइरीफस छरिएको हो ।

कीराको प्रकोप विगत तीन वर्षदेखि देखिएको बताउँदै ज्ञान केन्द्रका प्रमुख अधिकारीले यसपटक धेरै क्षति हुने अवस्था भएपछि न्यूनीकरणका लागि विषादी एक लिटर पानीमा दुई एमएलका दरले छर्किएको बताउनुभयो ।

कीराले धानको पातहरू मात्रै खाइदिएकाले कीरा नियन्त्रणमा आएपछि धानबाट उत्पादन हुने अधिकारीले बताउनुभयो । गुभा बाँकी रहेका धानका बोटहरूमा कीरा मरेपछि फेरि नयाँ पात पलाउने र धान पसाउने अधिकारीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया