प्रिमियर लिग सुरु नहुँदै चेन्नईका सुरेश रैना भारत फर्किए

  भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : इन्डियन प्रिमियर लिगमा सहभागी हुन यूएई पुगेका चेन्नई सुपर किंग्सका सुरेश रैना भारत फर्किनुभएको छ । उहाँ इन्डियन प्रिमियर लिगको आगामी संस्करणमा सहभागी नहुने भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रैना चेन्नईको प्रमुख ब्याट्सम्यानमध्ये एक हुन । सन् २००८मा प्रिमियर लिग सुरु भए यता ३३ वर्षीय रैनाले १३ संस्करणमा एक मात्र खेलमा सहभागी हुनुभएको छैन । रैना प्रिमियर लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा हुनुहुन्छ । उहाँले प्रिमियर लिगमा हालसम्म पाँच हजार ३६८ रन बनाउनुभएको छ । सबैभन्दा बढी रन बनाउने विराट कोहलीको नाममा पाँच हजार ४१२ रनको कीर्तिमान छ ।

चेन्नई सुपर किंग्सका के विश्वनाथनले रैना प्रिमियर लिग सुरु हुनुअघि नै भारत फर्केको पुष्टि गर्नुभएको छ । उहाँले ट्वीटमा लेख्नुभएको छ, “रैना व्यक्तिगत कारणले भारत फर्कनुभएकाे छ, यस्तो समयमा रैना र उहाँको परिवारका साथ चेन्नईको साथ रहनेछ ।” रैना स्वदेश फर्केको कारण अझै स्पष्ट हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया