सिमेन्ट उद्योगले चुनढुङ्गा बेच्न थाले

  भदौ १३, २०७७

तुलसीपुर, भदौ १२ : रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाअन्तर्गत कोइला क्षेत्रमा रहेको रोल्पा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन घटाएको छ । सिमेन्ट उत्पादन गर्नुपर्ने उक्त उद्योगले पछिल्लो समय भने उद्योग क्षेत्र वरपर रहेको चुनढुङ्गा लगायतका कच्चा पदार्थ बिक्री वितरण गर्दै आएको छ ।

बुधबार इलाका प्रहरी कार्यालय तुलसीपुरले कच्चा पदार्थ बोक्दै आएका २० वटाभन्दा बढी टिप्पर नियन्त्रणमा लियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार नियन्त्रणमा लिएका कुनै पनि टिप्परले कच्चा पदार्थ ढुवानीका लागि इजाजत पत्र राखेका थिएनन् ।

अहिले आन्तरिक राजस्व कार्यालय तुलसीपुरले कच्चा पदार्थ बाहिर बिक्री गरेको बिलको अनुसन्धान गरिरहेको छ । राजस्व कार्यालय प्रमुख लक्ष्मण श्रेष्ठले भन्नुभयो, “बिलको अनुसन्धान गर्दै छौँ, फर्जी बिल फेला परे कारबाही गर्छौं ।” आन्तरिक राजस्व कार्यालय तुलसीपुरले रोल्पा, दाङ, प्युठानमा रहेका सिमेन्ट उद्योग ठूूला करदाता भएकाले अन्तःशुल्क मात्रै लिने गरेको छ ।

यता खानी तथा भूगर्भ विभागका प्रवक्ता जयराज घिमिरेका अनुसार कुनै पनि उद्योगले माइनिङ लाइसेन्स नवीकरण गरेको खण्डमा मात्रै अन्यत्र कच्चा पदार्थ बिक्री वितरण गर्न पाउँछन् । दैनिक दस चक्के टिप्परले १६ टन मात्रै कच्चा पदार्थ बोक्न पाउने व्यवस्था छ तर यो क्षेत्रमा गाडीले दैनिक २७ टन बोक्दै आएका छन् ।

क्षमताभन्दा बढी कच्चा पदार्थ ढुवानी गर्दै आएका टिप्परका कारण राप्ती राजमार्गअन्तर्गत रहेको कपुरकोट–तुलसीपुर सडक खण्ड खाल्डाखुल्डी भएको छ भने कालोपत्रसमेत उप्किएको स्थानीयवासीको गुनासो छ ।

तपाईको प्रतिक्रिया