नेपाली टेलिकमका क्षेत्रमा ५० प्रतिशतभन्दा बढी बजार हिस्सा भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त संस्थामा १७ वर्षभन्दा बढी अनुभव सँगाल्नुभएको छ । विसं २०५९ फागुन २२ गते सातौँ तहको इञ्जिनीयरका रुपमा प्रवेश गर्नुभएका अधिकारीले प्रबन्ध निर्देशममा नियुक्त भई जिम्मेवारी सम्हालेको डेढ वर्षका बीचमा संस्थाको सेवा प्रवाह, सुशासन र प्राथमिकताप्राप्त आयोजनाका क्षेत्रमा केही प्रगति देखिएका छन् तर ग्राहकको मागबमोजिम कनेक्टिभिटी र नेटवर्किङ तथा नयाँ प्रविधिका शुरु भएका कामबाट परिणाम आइसकेको छैन ।
‘इलोक्ट्रोनिक्स इञ्जिनियरङ’मा बिई र पुल्चोकस्थित इन्स्टिच्युट अफ इञ्जिनीयरिङबाट विशिष्ट श्रेणीमा ‘सूचना र सञ्चार इञ्जिनीयरिङ’ उपाधिप्राप्त अधिकारीलाई हालको कोरोना महामारी र विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण कतिपय आयोजना समयमा पूरा नहुने चुनौतीको सामना कसरी गर्दै हुनुहुन्छ, ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई प्रमुख हिस्सेदार भएर टेलिकमले कसरी सघाउँदैछ जस्ता सवालमा राष्ट्रिय समाचार समिति (रासस) का प्रकाश सिलवालले गरेको संवाद :
नेपाली दूरसञ्चार बजारमा नेपाल टेलिकमको वर्तमान स्थिति कस्तो छ ?
नेपाल टेलिकम सय वर्षभन्दा बढी लामो इतिहास भएको सरकारी कम्पनी भएकाले यो सबैभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार अहिले पनि टेलिफोनमा ५२.३२ प्रतिशत र इन्टरनेटमा ४९.५० प्रतिशत ग्राहक सङ्ख्यालाई यही कम्पनीले सेवा दिइरहेको छ । हामीले सबै क्षेत्र र वर्गका सेवाग्राहीलाई दूरसञ्चार सेवा प्रदान गर्न फिक्स्ड टेलिफोन, मोबाइल, एडिएसएल, एफटिटिएच, वाइम्याक्सलगायत धेरै प्रकारका सेवा उपलब्ध गराइरहेका छौँ ।
अर्काे कुरा, हामी मुलुकभर नै ठूला पूर्वाधार रहेको कम्पनी पनि हौँ । टेलिकमले नाफा मात्र नहेरी शहरी, ग्रामीण तथा दुर्गम र विकट हिमाली बस्तीमा समेत सेवा प्रदान गरिरहेको छ । हाम्रा सेवा मुलुकको टेलिकम बजारमा सस्तो, पारदर्शी महसुल र गुणस्तरीय छन् । सेवाको पहुँच, ग्राहक सङ्ख्या, ब्राण्ड भ्यालु, ब्राण्ड रिकग्निसन तथा पूर्वाधार आदि दृष्टिमा हामी नै मुलुकको अग्रणी सेवा प्रदायक संस्थाका रुपमा छौँ । हामी मुलुकको संवैधानिक व्यवस्था र सङ्घीय संरचनानुकूल कम्पनीका क्षेत्रीय निर्देशनालय मातहतका कार्यालयलाई प्रदेश कार्यालयमा रुपान्तरणका लागि गत मङ्सिर १९ को सञ्चालक समितिको निर्णयानुसार काम गरिरहेका छौँ ।
हाल टेलिकमसँग टेलिफोन, मोबाइल र इन्टरनेटको पहुँचमा प्रयोगकर्ताको स्थिति कस्तो छ ?
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको पछिल्लो विवरणअनुसार हाल मुलुकभर नेपाल टेलिकमको स्थानीय टेलिफोन सेवाका सात लाख ८० हजार १८२, मोबाइल सेवाका एक करोड ८९ लाख ६० हजार ३४४ र इन्टरनेट सेवाका एक करोड ७ लाख ५३ हजार २३२ प्रयोगकर्ता हुनुहुन्छ । मुलुकको दूरसञ्चारको कुल बजार हिस्सामध्ये नेपाल टेलिकमको बजार हिस्सा ५२.२२ रहेको छ भने कुल इन्टरनेट प्रयोगकर्तामा कम्पनीको बजार हिस्सा ४९.५० रहेको छ ।
कोभिड –१९ पछिको हालको विषम अवस्थामा टेलिकमले ग्राहकका लागि केकस्ता सुविधा र उपहार उपलब्ध गराएको छ ?
विषम परिस्थितिलाई ध्यानमा राखी हामीले असहज अवस्थाबाट गुज्रन बाध्य भएका ग्राहकलाई सकेसम्म सहयोग गरेका छौँ । कोभिड–१९ कै कारण शुरुको अवस्थामा छिमेकी चीनबाट उद्धार गरी क्वारेन्टिनमा रहेका नेपालीलाई निःशुल्क सिमकार्ड उपलब्ध गरायौँ । मुलुकमा बन्दाबन्दी शुरु भएपछि रिचार्जमा शतप्रतिशत बोनस, मोबाइलको डाटा सेवामा ३० प्रतिशत छुट, स्टे कनेक्टेड अफरमा डाटा र भ्वाइस दुवै सेवामा राम्रो छुट र बोनस अफर प्रदान ग-यौं ।
विनाशकारी भूकम्प प्रभावितमध्ये चार जिल्लामा निःशुल्क उपलब्ध गराइएको इन्टरनेटको समयावधि थप गर्नाका साथै टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)सँगको सहकार्यमा देशमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
कम्पनीले प्रिपेड मोबाइल प्रयोगकर्तालाई लकडाउनका अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको उपलब्ध गराएको थियो । इ–शिक्षा प्याकेज, ह्याप्पी लर्निङ प्याकेज, विदेशबाट आएका नेपालीलाई निःशुल्क सिमकार्ड वितरण आदि सेवा निरन्तर जारी छन् ।
दूरसञ्चार सेवाको पूर्वाधार विस्तारको सम्झौता गरेर समयमा काम नगर्ने कम्पनीलाई कस्तो कारवाही हुँदैछ ?
मैले प्रबन्ध निर्देशकको कार्यभार सम्हाल्दा कम्पनीमा २३ रुग्ण आयोजना थिए र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि ती सम्बन्धमा चासो व्यक्त भएको थियो । हामीले सबै रुग्ण आयोजनालाई सम्झौता, कानून तथा ऐनको परिधिमा रही कडाइका साथ व्यवस्थापन गर्ने नीति बनायौँ र कार्यान्वयनमा ल्यायाँैं जसका कारण धेरै आयोजना सम्पन्न भए भने केही आयोजनाका ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्ने प्रक्रियामा लग्यौंँ । एक वर्षका अवधिमा १८ वटा रुग्ण आयोजनाको व्यवस्थापन गरिसकेका छौंँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गत आवको प्रतिवेदनमै ‘नेपाल टेलिकमले रुग्ण अयोजनाको सबभन्दा राम्रो व्यवस्थापन गरेको’ भनी उल्लेख गरेकाले हामी उत्साहित पनि छौँ । हालै समयमा सम्पन्न नभएको एउटा ठेक्कालाई रद्द गरेका छौंँ भने अर्को पनि रद्द गर्ने प्रक्रियामा छ । यहीबीचमा हामीले ५२ लाख लाइन क्षमताको जिएसएम आयोजनालाई भने सम्पन्न गरेका छौँ ।
सेवामा विविधीकरण र दूरसञ्चार क्षेत्रमा यसको अगुवाइ त देखिन्छ र संस्थाको डाटा सेवाको माग र प्रयोग बढिरहँदा पनि आम्दानीमा किन ह्रास आइरहेको होला ?
ग्राहकको माग र प्रविधिको आवश्यकतालाई ध्यान दिएर हामीले मोबाइल ब्रोडब्याण्डका लागि फोरजी तथा फिक्स्ड ब्रोडब्याण्डका लागि एफटिटिएच सेवालाई प्राथमिकताका साथ योजना, कार्यान्वयन र सेवा वितरणमा ध्यान दिइरहेका थियौँ । एक वर्षमै देशभर फोरजी सेवा विस्तार गर्ने लक्ष्य निर्धारण गरी द्रुत गतिमा काम भइरहेका समयमा कोभिड–१९ को कारणले आयोजना पूर्णरुपमा सम्पन्न हुन नसके पनि देशका ७७ जिल्लाका ५३२ स्थानीय तहमा यो सेवा विस्तार भइसकेको छ । एफटिटिएच सेवा ६४ स्थानीय तहमा वितरण गरिएको छ ।
कोभिड –१९ को महामारीका कारण टेलिकमका अन्य कुनकुन कार्यक्रम र सेवा प्रभावित छन् ?
यस विश्वव्यापी महामारीका कारण लकडाउन हुँदा भ्वाइस (आन्तरिक र अन्तरराष्ट्रिय रोमिङ) सेवामा भारी गिरावट आयो । हाम्रो जस्तो ६० देखि ७० प्रतिशत भ्वाइस रेभिन्युमा निर्भर रहेको बजारमा बन्दाबन्दीका कारण राजश्वमा निकै असर प¥यो । यद्यपि डाटा सेवाको माग र प्रयोगमा भएको वृद्धिले हामीलाई उत्साहित बनायो तर इन्टरनेट सेवामा दिइएको ३० प्रतिशतसम्मको छुट, रिचार्जमा भारी बोनस र प्याकेज खरीदमा ठूलो मात्रामा दिइने बोनस अफरका कारण डाटासेवाको प्रयोगमा ठूलो वृद्धि भए पनि राजश्वमा उलेख्य वृद्धि हुन नसकेको हो ।
हाम्रो सेवाको पहुँच, डाटा सेवामा उपलब्ध स्पिड, गुणस्तर र सुपथ मूल्यका कारण डाटा सेवाप्रति ग्राहकको ठूलो आकर्षण र रुचि बढेको छ, जुन कुरा कम्पनीको व्यावसायिक जीवनका लागि ठूलो सफलता हो । बन्दाबन्दीका अवधिमा पनि अविच्छिन्न सेवा गुणस्तरीय रुपमा प्रदान गर्नसक्यौँ । यो भनेको क्षणिक आम्दानीभन्दा पनि महत्वको रह्यो, यसले कम्पनीप्रतिको विश्वास बढाउन मद्दत गरेको छ । हाल डाटा सेवामा ग्राहकका आधार, प्रयोग र खपत जसरी बढेको छ, यसले कम्पनीको सुनिश्चित भविष्यको आधार तयार गरेको छ ।
हाल शिक्षालयहरु बन्द भई वैकल्पिक सिकाइ प्रणालीका लागि इन्टरनेट पहुँच विस्तार र सुविधाका लागि के योगदान भइरहेको छ ?
असहज अवस्थामा पनि शैक्षिक वातावरण कायमै रहनुपर्छ भन्ने मान्यता राखी न्यूनतम मूल्यमा विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ताले प्रयोग गर्न सक्ने गरी इ–शिक्षा प्याकेज र ह्याप्पी लर्निङ प्याकेज ल्याएका छौंँ । यसबाट मुलुकभरका पठनपाठन र अनुसन्धानजस्ता कार्यमा संलग्नले लाभ उठाउन सक्नुहुनेछ र अध्ययन, अध्यापन र अनुसन्धानका कार्य विषम परिस्थितिमा पनि रोकिने छैन भन्ने हामीले विश्वास लिएका छौंँ । कम्पनीले पछिल्लो चरणमा विश्वविद्यालयदेखि मुलुकभरका कलेजका विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताको सहजताका लागि न्यूनतम मूल्यमा ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउन विश्वविद्यालय अनुदान आयोगसँग सम्झौता सम्पन्न गरेको छ ।
सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न यस कम्पनीलाई सञ्चार क्षेत्रको मेरुदण्ड नै मानेको र उचित प्राथमिकता पनि दिएको पाइन्छ । यसले सञ्चालन गरिरहेका राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरु समयमै सम्पन्न हुन सकेको देखिँदैन नि ?
हाल कम्पनीले मोबाइल ब्रोडब्याण्डका लागि फोरजी÷एलटिई आयोजना, फिक्स्ड ब्रोडब्याण्डका लागि एफटिटिएच र पूर्वाधार विकासका लागि मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार आयोजना सञ्चालन गरिरहेको छ । फोरजी÷एलटिई विस्तार आयोजनाअन्तर्गत हाल कोर नेटवर्कको काम ९४ प्रतिशत सम्पन्न भई सञ्चालनमा रहेको छ भने रेडियो एक्सेस नेटवर्क (¥यान) को कार्य ७७ जिल्लाकै ५३२ स्थानीय तहमा सञ्चालन भएको छ । समग्रमा ६५ प्रतिशत काम सम्पन्न भएको छ ।
कोभिड–१९ को कारणले घरबाटै पनि काम गर्नुपर्ने भएकाले अपेक्षाकृत हुन सकेन । यद्यपि बन्दाबन्दी खुकुलो भएसँगै -यान नेटवर्कको कामले समेत तीव्रता पाइरहेकै अवस्थामा कतिपय स्थानमा भएका स्थानीयस्तरका निषेधाज्ञा र स्वास्थ्य जोखिमका कारण चुनौतीका बीच काम गरिरहेका छौँ ।
कम्पनीको अर्को महत्वपूर्ण आयोजना एफटिटिएच नेटवर्क विस्तारअन्तर्गत आर्थिक वर्ष ०७७-७८ लाई विशेष रुपमा एफटिटिएच सेवा विस्तार वर्षका रुपमा लिएका छौँ । हाल ३७ जिल्लाका ६४ स्थानीय तहमा यो नेटवर्क विस्तार गरी वितरण भइरहेको छ । चालु आवमा तीन लाखभन्दा बढी नेटवर्क तयार गरी दुई लाख २० हजार बढी ग्राहकलाई यो सेवा उपलब्ध गराउने लक्ष्य राखी सोहीअनुसार काम भइरहेको छ । अघिल्ला वर्षका तुलनामा यस प्रविधिमा कर्मचारी साथीहरुको दक्षता, सामग्री र उपकरणको उपलब्धतादेखि उत्साहमा समेत वृद्धि भएकाले लक्ष्य हासिल हुने विश्वास लिएको छु । तारमा आधारित नेटवर्क र इन्टरनेटलाई क्रमशः एफटिटिएचमा स्तरोन्नति गर्नाले सेवा थप गुणस्तरीय बन्नेछ भने आइपिटिभी सेवा समेत छिट्टै प्रदान गरिनेछ । एफटिटिएचमार्फत भ्वाइस, इन्टरनेट र टिभीसहित एउटै नेटवर्कबाट सुपथ मूल्यमा विविध सेवा वितरणसमेत शुरुवात गरिनेछ ।
पूर्वाधार निर्माणअन्तर्गत ग्रामीण दूरसञ्चार कोषको रकममार्फत मध्यपहाडी लोकमार्ग र आसपासका क्षेत्रमा उच्च क्षमताको ब्याकबोन नेटवर्क तयार गर्ने गरी अप्टिकल फाइबर विस्तार अघि बढाइएको छ । यो राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना पनि हो । प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेशमा अप्टिकल फाइबर विस्तार र उपकरण जडान चालु आवभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा ट्रान्समिसन पूर्वाधार तयार पार्ने कार्य शुरु भएको छ । पूर्वाधार निर्माणको कामसमेत समयमा नै सम्पन्न गरी उच्च गुणस्तर र उच्च क्षमताको ब्याकबोन नेटवर्क तयार गरी ‘डिजिटल नेपाल’को आधार तयार गरिनेछ ।
‘डिजिटल नेपाल’को सन्दर्भमा कुरा गर्दा सरकारले यसको कार्यढाँचा बनाई कार्यान्वयनको तयारी गरेको छ । यसमा टेलिकमको भूमिका कस्तो हुन्छ ?
‘डिजिटल नेपाल’को परिकल्पना कार्यान्वयनको महत्वपूर्ण पक्ष भनेको ब्रोडब्याण्ड कनेक्टिभिटी हो । नेपाल टेलिकमले हाल कार्यान्वयनमा ल्याएको फोरजी-एलटिई परियोजना तथा एफटिटिएच सेवा विस्तारमार्फत ७७ जिल्लाका सबै स्थानीय तहसम्म नै ब्रोडब्याण्ड कनेक्टिभिटी पु¥याइने छ । मध्यपहाडी अप्टिकल आयोजनामार्फत ब्याकबोन नेटवर्कको क्षमता अभिवृद्धि, प्रविधि स्तरोन्नति र लागतमा कमी ल्याउने अपेक्षा पूरा गरिएको छ । यसरी लाष्टमाइल कनेक्टिभिटीमा पहुँच विस्तार, ब्याण्डबिथ अपग्रेड तथा ब्याकबोन नेटवर्कको विस्तारले डिजिटल नेपालका लागि आवश्यक आधारशिला तयार गर्नेछ । यसबाट डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरेको(वन नेशन एट डोमिन एण्ड एट्टी इनिसियटिभ) का कार्यक्रम अघि बढाउन सहज हुनेछ ।