वीरगञ्ज आइपुग्यो २५ सय टन युरिया मल, भाेलिबाटै वितरण

  भदौ १०, २०७७

वीरगञ्ज, भदौ १० : लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अडकिएर रहेको २५ सय टन रसायनिक युरिया मल वीरगञ्जकोसुख्खा बन्दरगाहमा आईपुगेको छ ।

यूरिया मलको अभावमा किसानहरु छटपटी रहेको बेला साल्ट ट्रेडिङ कर्पोरेशनको २५ सय टन युरिया मल मंगलबार राती वीरगञ्ज आइपुगेको हो । विहीबार शुक्रबारदेखि किसानलाई मल वितरण गर्ने लक्ष्य साल्ट ट्रेडिङ कर्पोरेशनले लिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले २५ सय टन युरिया मल मंगलबार राती श्रर्सिया सुख्खा बन्दरगाहमा आईपुगेको बताउर्दै वीरगञ्ज आईपुगेको उक्त मललाई केन्द्रको निर्देशन अनुसार सिन्धुलीदेखि कञ्चनपुर महेन्द्रनगरसम्म गरी १९ जिल्लामा पठाईने जानकारी दिनुभयो ।

बिहीबारदेखि नै वीरगञ्जबाट सिन्धुलीदेखि कञ्चनपुर महेन्द्रनगरसम्मका बिभिन्न १९ जिल्लामा युरिया मल पठाईने बताउँदै साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले भन्नुभयो । एक हप्ता भित्रमा अर्को २५ सय टन आईपुग्छ , यसपालि पठाउन नसकिएका जिल्लाहरुमा यसपछि आएको मल पठाईन्छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको वीरगञ्जका गोदामहरुमा मल राख्ने काम सुरु गरिसकिएको बताउदै साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले पर्साका किसानहरुका लागि सहकारीहरुलाई पर्सि शुक्रबारदेखि मल वितरण गरिने जानकारी दिनुभयो । सुरुमा ३० देखि ५० बोरा एक सहकारीलाई दिने लक्ष्य राखेका छौं हाम्रो पर्सा जिल्लाको कोटामा कति मल पर्छ त्यही अनुसार वितरण गरिन्छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि मन्त्रालयको समन्वयमा कुन कुन जिल्लामा मल पठाउने भनेर तालिका बनाएकाले सोही तालिका अनुसार मल वितरण गरिने छ । सुरुमा मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुर लगायतका जिल्लामा वितरणका लागि वीरगञ्जबाट पठाईने बताईएको छ ।

कर्पोरेशनको कोटाको २१ हजार ५ सय टन युरिया मल कलकक्तामा लकडाउनका कारण करिब ३ महिनादेखि अड्किएर बसेको थियो । लकडाउन खुकुलो भएसँगै मल नेपाल भित्रन सुरू गरेको छ साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । केही दिन भित्रमा २१ हजार ५ सय टन यूरिया मल नेपाल आईसक्ने साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले जानकारी दिनु भयो ।

साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको यो यूरिया रसायनिक मलमा नेपाल सरकारको एक हजार २४७ रुपैया २६ पैसा प्रति बोरा अनुदान रहेको छ । औसत मूल्य एक हजार ९४७ रुपैया २६ पैसामा आयात गरिएको यस युरिया मलको ५० किलोग्रामको तौल भएको एक बोरा सरकारको अनुदान रकमका कारण किसानले औसत मुल्य ७ सयमा किन्न पाउनेछन् ।

सरकारले औसत मूल्य सात सय तोकिदिए पनि सहकारीहरुले मनपरीरुपमा अधिकतम ९ सय ५० रुपैया बोरासम्म किसानलाई बिक्री गर्ने गरेको गुनासो किसानहरुको रहेको छ । उता कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका सूचना अधिकारी गोरखनाथ केसीले साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको यूरिया मल वितरण गरि सकिएपछि मात्र कृषि सामग्री कम्पनीको ५५ हजार टन यूरिया मल आउने जानकारी दिनु भयो ।

अबको २५ दिन देखि एक महिना भित्रमा हाम्रो मल पनि आईपुग्छ उहाँले भन्नुभयो । कृषि सामग्री कम्पनीले साउनको अन्तिममा आयात गरिसक्नु पर्ने युरिया मल आयात नगर्दा मलको हाहाकार भएको बताईन्छ ।

नेपालमा आयात गरिने जम्मा रसायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशन आयात गर्ने प्रावधान रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जमा गएको जेष्ठ १५ गते यतादेखि नै युरिया मल छैन भने साल्ट ट्रेडिङ कर्पोरेशनले साउनको पहिलो हप्तासम्म केही मात्रामा वितरण गर्दै आएको बताईन्छ ।

तपाईको प्रतिक्रिया