आन्तरिक उडान पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी

  भदौ १०, २०७७

काठमाडौँ, भदौ १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले आन्तरिक उडान पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिनुभएको छ ।

मन्त्रालयको गत आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मङ्गलबार उहाँले निजी क्षेत्रसँगको छलफलपछि केही हिमाली र पहाडी जिल्लामा आन्तरिक उडान सञ्चालन गर्ने सोचमा मन्त्रालय रहेको बताउनुभयो । छलफलपछि जे निष्कर्ष आउँछ त्यसलाई मन्त्रिपरिषद्मा लगेर छिट्टै आन्तरिक उडान सुचारु गर्ने हिसाबमा हामी जान्छौँ, उहाँले भन्नुभयो ।


दशैँ तिहारलगायत चाडबाड नजिकिँदै गर्दा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सहज ढङ्गले जान पाउनुपर्छ भन्नेमा सरकार सकारात्मक रहेको उहाँले स्पष्ट पार्नुभयो । कतिपय जिल्लामा निषेधाज्ञा तथा बन्दाबन्दीका कारण आन्तरिक उडान गर्न नसक्ने अवस्था रहेकाले सम्भव भएका ठाउँमा उडान गरिने उहाँले जानकारी दिनुभयो ।

यसअघि भदौ १ देखि सरकारले आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि त्यो स्थगन गरिएको थियो । यसैबीच आन्तरिक वायुसेवा सञ्चालकले भदौ १६ देखि उडान नगरे लगानी जोखिममा पर्ने भन्दै आन्दोलन गर्नेसम्मको चेतावनी सरकारलाई दिएका छन् ।

कार्यक्रममा मन्त्री भट्टराईले कारोना सङ्क्रमणको जोखिम बढ्दै गर्दा सरकारले उडानलाई सीमित गरेको प्रस्ट पार्नुभयो । भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन खुला गरेको अवस्थामा दिनमा बढीमा पाँच सय जना मात्र यात्रु नेपाल ल्याउन पाउने निर्णय सरकारले गरेको छ । उद्धार उडान व्यवस्थापनमा कमजोरी भएको र टिकट महँगो भएको स्वीकार गर्दै मन्त्री भट्टराईले भदौ १६ देखि नियमित उडान सुरु गर्ने जानकारी दिनुभयो ।

यसले सकारात्मक परिणाम दियो, हवाई उडानबाट आउने यात्रुमा त्यस्तो सङ्क्रमण देखिएन, उहाँहरू सरकारले बनाएको नियममा बस्नुभयो भने यो सङ्ख्या बढाउँदै लगिनेछ, उडान थपिँदै लगिनेछ, उहाँले भन्नुभयो । नियमित उडानका लागि सरकारले तालिका बनाइसकेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ पछि अहिलेसम्म विदेशबाट ५२ हजारलाई नेपाल ल्याइएको छ भने २० हजारलाई विदेश जान मन्त्रालयले सहजीकरण गरिसकेको छ ।

मन्त्रालयको प्रगति ५९ प्रतिशत मात्रै
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत आर्थिक वर्षमा ६० प्रतिशत प्रगति हासिल भएको जनाएको छ । गत आवमा मन्त्रालयको कुल बजेट २१ अर्ब १२ करोड १६ लाख रुपियाँ थियो । त्यसमध्ये चालूतर्फ ८१ प्रतिशत, पुँजीगततर्फ ६१ प्रतिशत र वित्तीयतर्फ ५४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणबीच पनि मन्त्रालयले हासिल गरेको प्रगति सन्तोषजनक रहेको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताउनुभयो । गत आवमा खासगरी नीतिगत सुधारमा ठूलो सफलता हासिल भएको र पछिल्लो छ महिना कोभिड–१९ सङ्क्रमण व्यवस्थापन प्राथमिकतामा परेको उहाँले बताउनुभयो ।

गत आवमा मन्त्रालयअन्तर्गतका महŒवपूर्ण आयोजनामध्ये गौतम बुद्ध अन्तर्र्राष्ट्रिय विमानस्थलको निर्माण ९२ प्रतिशत पुगेको र कोभिडकै कारण सञ्चालन तयारी अवस्थामा ल्याउन समस्या भएको मन्त्रालयले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६२ प्रतिशत पूरा भएको र तोकिएको जुन २०२१ भित्रै सम्पन्न भइसक्ने मन्त्रालयको अनुमान छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको खासगरी तीन मिटर धावन मार्ग र ट्याक्सी वे विस्तारको काम शतप्रतिशत सम्पन्न भएको पनि मन्त्रालयले जनाएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा चर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रमा रुख कटानका लागि गणनाको काम सुरु गर्ने र बस्ती स्थानान्तरणको काममा सामान्य सफलता हासिल भएको
उल्लेख गरिएको छ ।

खासगरी वन मन्त्रालयसँग समन्वय गर्नुपर्ने भएकाले १९ सय हेक्टर क्षेत्रफलमा रुख गणना केही समय ढिला भए पनि अहिलेसम्म ६० हजारजति रुख गणना भइसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया