चार अर्बभन्दा बढीको ट्रेजरी बिल जारी हुँदै

  भदौ ०८, २०७७

काठमाडौँ, भदौ ८ : सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन नेपाल राष्ट्र बैङ्कले चार अर्ब २३ करोड रुपियाँको बराबर ट्रेजरी बिल जारी गर्ने भएको छ । आगामी मङ्गलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ः०० बजे बोलकबोल हुने भएको छ । राष्ट्र बैङ्कले ९१ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

९१ दिनका लागि दुई अर्ब २३ करोड रुपियाँको ट्रेजरी जारी गर्न लागेको राष्ट्र बैङ्कले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । ट्रेजरी आगामी २०७७ मङ्सिर ९ गते परिपक्व हुनेछ । एक वर्ष अवधिका लागि जारी गर्न लागिएको दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल २०७८ भदौ ८ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन राष्ट्र बैङ्कले ट्रेजरी बिल बिक्री गर्दै आएको छ । भुक्तानी मिति अगाडि ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैङ्क कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था छ । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ । सबै वर्गका बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुनसक्ने राष्ट्र बैङ्कले जनाएको छ ।  

तपाईको प्रतिक्रिया