उखु किसानले चार वर्षदेखि भुक्तानी पाएनन्

  भदौ ०७, २०७७

सर्लाही, भदौ ७ : सर्लाहीका उखु किसानले अन्नपूर्ण चिनी उद्योगबाट अझै पनि भुक्तानी पाउन सकेका छैनन् । किसानले भुक्तानीका लागि पटक–पटक सङ्घर्ष र सम्झौता गर्दा पनि जिल्लाको दक्षिण–पश्चिम भेगमा रहेको सो उद्योगले किसानको अझै भुक्तानी गरेको छैन ।

किसानको चार वर्षदेखिको भुक्तानी पाउन बाँकी छ । पछिल्लो पटक गत पुसमा यहाँका किसानले काठमाडौँ गएर आन्दोलन गरेपछि सरकारले उद्योगबाट क्रमैसँग भुक्तानी दिलाउने सम्झौता र आश्वासन दिएर किसानलाई घर पठाएको थियो । तर अझै किसानले पैसा पाएका छैनन् ।

धनकौल गाउँपालिकाको महिनाथपुरका किसान रामप्रताप महतोले धनकौल चिनी उद्योगबाट अब भुक्तानीको आश गर्न छाडेको बताउनुभयो । “पटक–पटक आन्दोलन गर्दा र सरकारसँग हारगुहार गर्दा पनि केही भएन । अब त चिनी मिलले पैसा देला भन्ने आश छैन”, महतोले गुनासो गर्नुभयोे, “हामी उखु किसानको पीडा कसैले बुझेनन् । किसानको दुःख सुनिदिने कोही भएन ।”

आफूहरू काठमाडौँ गएर धर्ना बस्दा किसानको भुक्तानी दिलाउन केही तातेको जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको यहाँका किसानको गुनासो छ । किसानको भुक्तानी दिनुको सट्टा अन्नपूर्ण चिनी उद्योग गत सिजन बन्द गरिएको छ ।

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जति प्रयास गर्दा पनि भुक्तानी नदिएर अन्नपूर्ण चिनी उद्योगले किसानलाई निराश बनाएको बताउनुभयो । मैनालीका अनुसार अन्नपूर्णले किसानलाई तीन-चार वर्षदेखिको झण्डै २४ करोड रुपियाँको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको छ ।

जिल्लाको तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योगले भने भुक्तानीमा समस्या गरेको छैन । महालक्ष्मी चिनी मिलले बाँकी रहेको केही रकम भुक्तानी गरी अघिल्लो सिजनमा ढिलो गरी उखु क्रसिङ सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया