मोतिपुर औद्योगिक क्षेत्र : निर्माणमा ढिलाइ उद्योगी चिन्तित

  भदौ ०७, २०७७

बुटवल, भदौ ७ : बुटवलको मोतिपुरमा बनाउने भनिएको मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काममा ढिलाइ भएकोमा यस क्षेत्रका उद्योगीले चिन्ता गरेका छन् । दुई वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्नेमा सरकारकै कारण ढिलाइ भएको भन्दै उद्योगीहरूले निर्माण प्रक्रिया छिटो सुरु गर्न मागसमेत गरेका छन् ।

उता मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालय बुटवलले भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सम्पन्न भइसकेको र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको प्रक्रियामा रहेकाले केही ढिलाइ भएको जनाएको छ ।

मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयको जिम्मेवारी पाएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बुटवलका प्रमुख निमेष अधिकारीले कोभिड–१९ ले निर्माण प्रक्रियामा केही ढिलाइ भएको तर वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुनासाथ काम अघि बढ्ने बताउनुभयो । उहाँले त्यस क्षेत्रको बस्तीको व्यवस्थापन, प्रशासनिक संरचना निर्माण, नदी तटीय क्षेत्रको जग्गा व्यवस्थापन, बाटो, पानी, बिजुली लगायत पूर्वाधार निर्माणको काम अब एकैसाथ हुने बताउनुभयो ।

उता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका योजना प्रमुख सञ्जय मानन्धरले अहिले उद्योग मन्त्रालयसँग वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि पहल भइरहेको बताउँदै केही दिनमै स्वीकृत हुनासाथ काम अघि बढ्ने जानकारी दिनुभयो । मोतिपुर औद्योगिक क्षेत्रको जग्गाभित्र केही वन क्षेत्रको परेको भन्ने बुझिएकाले ईआईएका लागि ढिलाइ भएको र स्वीकृत हुनासाथ औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने योजना प्रमुख मानन्धरले बताउनुभयो ।

तर बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमालले मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएकोमा असन्तुष्टि जनाउनुभयो । सङ्घकै प्रस्तावनामा सङ्घीय सरकारले मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाए पनि अहिले निर्माण प्रक्रियामै ढिलाइ भएकोमा उहाँको गुनासो छ ।

औद्योगिक क्षेत्रमा कुन प्रकृतिका उद्योग स्थापना हुने, कस्तो प्रकृतिका उद्योगलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै उहाँले चार सयभन्दा बढी उद्योगीले उद्योग स्थापनाका लागि रुचि देखाएको बताउनुभयो । एक वर्षअघि नै मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयले उद्योगीहरूसँग लिखित आशयपत्र माग गरेको थियो । जसमा चार सयभन्दा बढी उद्योगले मोतिपुरमा उद्योग स्थापना गर्न चाहेको आशयपत्रको फारम भरेका थिए ।

औद्योगिक क्षेत्रका लागि साविकका मोतिपुर, फर्साटिकर, अमुवा, टिकुलीगढ र आनन्दवन गाउँ विकास समितिसमेत समेटिएको बुटवलस्थित तिनाउ नदीको उकास क्षेत्रको ८१३ बिघा सरकारी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा धनीपुर्जा प्राप्त भएको छ । त्यसमध्ये नदी, बस्ती, बाटो र मोतिपुर कोरिडोर निर्माणका लागि जग्गा छुट्याँउदा करिब पाँच सय बिघा जग्गामा मात्र औद्योगिक क्षेत्र बन्ने कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

औद्योगिक क्षेत्रभित्र विद्यालय, खेल मैदान, स्वास्थ्य चौकी लगायतका संरचनाका लागि जग्गा छुट्याउनुपर्ने स्थानीयले माग समेत गरेका छन् । उक्त औद्योगिक क्षेत्रमा साना, मझौला र ठूला उद्योगका लागि छुट्टाछुट्टै क्लस्टर निर्माण गरिने जानकारी अधिकारीले दिनुभयो । उता मोतिपुर औद्योगिक क्षेत्र स्थापनाका लागि निजी स्तरबाट पहल गर्ने बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा उद्योगी नवराज श्रेष्ठले दुई वर्षअघिसम्म धेरै अघि बढेको निर्माणको प्रक्रिया आफूहरूले हस्तान्तरण गरेपछि सुस्त भएको बताउनुभयो ।

करिब ६ वर्षअघि मोतिपुरमा निजी स्तरबाट औद्योगिक क्षेत्र बनाउन बुटवल उद्योग वाणिज्य सङ्घले पहल गरेको थियो । पछि सरकारले नै औद्योगिक क्षेत्र बनाउने भनेपछि सङ्घले निर्माणको सबै प्रक्रिया सरकारलाई हस्तान्तरण गरेको थियो । उद्योगी श्रेष्ठले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको कुरा सरकारको नीतिमा भर पर्ने भएकाले बुटवलका उद्योगीले निर्माण छिटो होस् भन्ने कामना मात्र गर्न सकिने प्रतिक्रिया दिनुभयो ।

तपाईको प्रतिक्रिया