काठमाडौं, भदौ ३ : पेरिस सैन्ट–जर्माइन(पीएसजी) पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान सुनिश्चित गरेको छ । आरबी लैप्जिगलाई हराउँदै फ्रेञ्च क्लब पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
लिस्बनमा अबेर राति सम्पन्न खेलमा पीएसजीले लैप्जिगमाथि ३–० को जित हात पार्यो । पीएसजीको जितमा मार्किन्हो, एञ्जेल डी मारिया र जुआन बर्नाटले सामान एक एक गोल गर्नुभयो ।
क्वार्टरफाइनलमा एटलान्टा विरुद्धको खेलमा वापसी गर्दै अन्तिम दुई गोल गरेका मार्किन्होले डी मारियाको फ्री किकलाई गोलको दिशा दिदैं पीएसजीलाई सुरुवाती अग्रता दिलाउनुभयो । पीएसजीले पहिलो गोल खेल सुरु भएको १३ औं मिनेटमा गरेको थियो ।
एञ्जेल डी मारियाले ४२ औं मिनेटमा नेयमारको फ्लिकलाई गोलको दिशा दिनुभयो । नेयमार र कायल म्बाप्पेले लैप्जिगको पछिल्लो पंक्तिलाई आतंकित बनाइरहँदा जुआन बर्नाटले ५६ औं मिनेटमा पीएसजीका लागि तेस्रो गोल थप्नुभयो ।
पीएसजीले बुधबार उपाधिको लागि स्पर्धा गर्नेछ । पाँच पटकको विजेता वार्यन म्युनिखले सेमीफाइनलमा आइतबार लियोनको सामना गर्दा पीएसजीले दुई टोलीबीचको विजेतासँग बुधबारका लागि निर्धारित भेट सुनिश्चित गरेको छ ।