खेल रत्नबाट पुरस्कृत हुने रोहित चौथो क्रिकेटर बन्दै

  भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : भारतको अन्तर्राष्ट्रिय एकदिवसीय टोलिका उपकप्तान समेत रहनुभएका ब्याट्सम्यान रोहित शर्मालाई खेल रत्न पुरस्कारका लागि सिफारिश गरिएको छ । उक्त पुरस्कार खेलकुद गतिविधिमा लागेका खेलाडीलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित पुरस्कार हो ।

भारतको खेलकुद मन्त्रालयले शर्मालाई राजिब गान्धी खेल रत्न पुरस्कारका लागि सिफारिश गरेको हो । तिब्र गतिका बलर इशान्त शर्मा र महिला क्रिकेट टोलिका अलराउण्डर दिप्ती शर्मालाई अर्जून पुरस्कारका लागि मन्त्रालयले सिफारिश गरेको छ ।

शर्मालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले गत मई महिनामै उक्त पुरस्कारको लागि नाम छनोट गरी पुरस्कार छनोट समितिमा पठाएको थियो । समितिमा विरेन्द्र सहवाग र हकी टोलिका कप्तान समेत रहनुभएका सरदार सिंह हुनुहुन्छ ।

शर्माले सन् २०१९ मा पाँच टेष्ट खेलमा ९२.६६ को औसतले ५५६ रन बनाउनुभएको छ । उहाँले सन् २०१९ मै अन्तर्राष्ट्रिय एकदिवसीयमा ५७.३० को औसतले एक हजार ४९० रन बनाउनुभएको छ । विश्वकप क्रिकेटको एउटै संस्करणमा उहाँले पाँच शतक लगाएर नयाँ कीर्तिमान समेत बनाउनुभयो ।

कुस्ती खेलाडी विनेश फोगत, प्याडलर मनिका बात्रा, महिला हकी टोलिकी कप्तान रानी रामपाल र सन् २०१६ मा रियो पाराओलम्पिकका स्वर्ण पद विजेता ‘हाइ जम्पर’ मरियप्पन थाङगाभेलु गरी पाँच जनालाई खेल रत्न पुरस्कारका लागि सिफारिश गरिएका छन् । यसअघि क्रिकेटर सचिन तेन्दुलकर, महिन्दर सिंह धोनी र विराट कोहली उक्त पुरस्कारका लागि सिफारिश भएका थिए ।

तपाईको प्रतिक्रिया