ब्याज दरको प्रतिस्पर्धामा वित्तीय क्षेत्र

  भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : नेपाल बैङ्क लिमिटेडले दुई साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ग-यो । घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैङ्कमा रहेको घर कर्जासमेत स्वाप गर्ने सुविधाका अतिरिक्त बैङ्कले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजना पनि ल्याएको छ । लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याज दर ८.९९ प्रतिशत रहेको बैङ्कले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कले पनि कर्जाको ब्याज दर सर्वाधिक कम तय गरेको छ । ७.२५ प्रतिशत ब्याज दरको घर कर्जा उपलब्ध गराइएको बैङ्कले यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैङ्कबाट लिएको घर कर्जालाई स्वाप गर्ने सुविधासमेत दिएको छ । निजी क्षेत्रको एनएमबी बैङ्कले पनि ८.९९ प्रतिशतमा घर कर्जा दिने भएको छ । दुई वर्षको घर कर्जा लिनेले उक्त ब्याज दरमा कर्जा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

यी बैङ्किङ क्षेत्रका पछिल्ला प्रतिनिधिमूलक घटना हुन् । कुनै बेला कठिन बनेको कर्जा उपभोक्ताका लागि अहिले सहज मात्रै भएको छैन सस्तो, सुलभ र प्रतिस्पर्धी पनि बनेको छ । यसले गर्दा कोरोना सङ्क्रमणले खुम्चिएको कर्जा प्रवाह पनि बढ्न थालेको छ । बन्दाबन्दी यता बैङ्कमा निक्षेप थुप्रिने र कर्जाको माग कम हुँदै गएपछि कर्जा विस्तारमा वाणिज्य बैङ्क आक्रामक बन्दैछन् । यसो गर्दा बैङ्कले कर्जाका लागि एकल विन्दु अर्थात् १० प्रतिशत नपुग्ने गरी समेटेका छन् ।

बन्दाबन्दी खुकुलो भएसँगै घर जग्गा र सवारी साधन किन्न सस्तोमा कर्जा दिँदै उपभोक्ता तान्ने होड पनि उस्तै छ । चैतमा बन्दाबन्दी भए यता बैङ्किङ प्रणालीमा लगानी योग्य रकम (तरलता) थुप्रिएका कारण बैङ्क कर्जा लगानी गर्न उदार देखिएका हुन् । नेपाल राष्ट्र बैङ्कका अनुसार अहिले बैङ्किङ प्रणालीमा रहेको दुई अर्ब रुपियाँभन्दा बढी तरलतालाई सन्तुलनमा ल्याउन साउनमा मात्रै तीन पटक २०–२० अर्बको रिपो मार्फत तरलता खिचिएको छ ।

नेपाल बैङ्क लिमिटेडका प्रवक्ता प्रकाश अधिकारीले व्यवसाय सञ्चालन तथा विस्तार गर्न २५ लाखदेखि ९९ लाख रुपियाँ सम्मको लघु उद्यम कर्जा र एक करोड रुपियाँदेखि तीन करोड रुपियाँ सम्मको चालू तथा स्थिर पुँजी व्यवस्थापन गर्न कर्जा उपलब्ध गराइने बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैङ्कका वित्त विभाग प्रमुख विमल डङ्गोलले आधार दर ६ प्रतिशतभन्दा कम भएकाले समग्रमा ब्याज दर पनि एकल विन्दुमा झारेको बैङ्कको आधार दर ६ प्रतिशतभन्दा पनि तल ५.९० प्रतिशत कायम भएको बताउनुभयो । यसमा १.२५ प्रतिशतदेखि ३.२५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको उहाँको भनाइ छ । एनएमबी बैङ्कले आधार ब्याज दर ८.९५ प्रतिशत राखेको छ तर पाँच वर्ष अवधिको घर कर्जा ११ प्रतिशत, सोलार कर्जा ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतमा पनि दिँदै आएको छ ।

एनआईसी एसिया बैङ्कले पनि बन्दाबन्दीपछि सस्तोमा घर तथा सवारी कर्जा योजना सार्वजनिक गरेको थियो । बैङ्कले जेठ महिनामा घटाएको आधार दरमा केही मात्रा मार्जिन राखेर असारको दोस्रो सातामा ८.२५ प्रतिशत ब्याज दरमा घर र सवारी कर्जाको सुपर चामत्कारिक योजना सार्वजनिक गरेको हो । यस्तो कर्जा बैङ्कले एक वर्षसम्म ब्याज नबढ्ने गरी आधार दरभन्दा ०.०३ प्रतिशत बढी र सेवा शुल्क ०.२५ प्रतिशत मात्र लिने गरी सार्वजनिक गरेको थियो । बैङ्कले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्न न्यूनतम पाँच वर्षदेखि १० वर्ष सम्मका लागि कर्जा योजना ल्याएको छ ।

हिमालयन बैङ्क ८.४९ प्रतिशत ब्याज दरमा विभिन्न छ प्रकारका र ९.८९ प्रतिशत ब्याज दरमा पाँच प्रकारका सहज र सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैङ्कले सार्वजनिक गरेका ८.४९ प्रतिशत ब्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यावसायिक कम्प्लेक्स निर्माण कर्जा छन् । दस वर्ष सम्मका लागि पाइने एसएमई कर्जा न्यूनतम पाँच लाखदेखि छ करोड रुपियाँसम्म रहेको छ ।

यता सनराइज बैङ्कले किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्ष सम्मको अवधिका लागि ८.९५ प्रतिशत ब्याज दरमा घर–जग्गा कर्जा लिन पाउने भएका छन् भने सेयर धितो कर्जामा ९.९५ प्रतिशत ब्याज दरमा कर्जा प्रवाह गर्ने जनाएको छ । ग्लोबल आईएमई बैङ्कले सस्तो ब्याजमा तीन दिनभित्रै कर्जा दिनेगरी योजना सार्वजनिक गरेको छ । बैङ्कले ९.९९ प्रतिशत ब्याज दरमा १५ वर्ष सम्मका लागि एक करोड ५० लाख रुपियाँसम्म घर कर्जा दिने योजना सार्वजनिक गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया