सुन तोलाको फेरि एक लाख कट्यो

  भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : सुनको मूल्य उतार चडावको क्रम मङ्गलबारसम्म पनि जारी रहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथि भएसँगै त्यसले नेपाली बजारमा समेत सुनको मूल्यलाई तलमाथि भएको छ ।

सुनको मूल्य एक लाख तीन हजारसम्म पुगेर पुनः ९६ हजारमा झरेको थियो । तर मङ्गलबार तोलामा दुई हजार दुई सय रुपियाँले बढेर सुनको मूल्य पुनः तोलामै एक लाख चार सय रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा एक तोलाको दुई हजार दुई सय रुपियाँले बढेर सुनको भाउ एक लाख चार सय रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष दियसरत्न शाक्यले जानकारी दिनुभयो ।

सोमबार छापावाल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासङ्घले जनाएको छ । सुनको मूल्य दसैँअघिसम्म तोलाकै एक लाख ५० हजारसम्म पुग्ने प्रक्षेपण गरिएकोमा रुसमा कोरानाको खोप बनेको हल्लासँगै एक्कासि घटेको थियो ।

मङ्गलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपियाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार ३८० रुपियाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको सङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया