एक अर्बको लगानीमा कागज कारखाना

  साउन २९, २०७७

चितवन, साउन २९ : कोरोना कहरले देशमा उद्योग व्यवसाय बन्द भइरहेको बेला एक अर्ब रुपियाँ लगानी गरेर चितवनका चार युवा उद्यमीले स्थापना गरेको क्वालिटी पेपर इन्डस्ट्रिजले भने व्यावसायिक उत्पादन सुरु गर्ने भएकोे छ ।

उद्योगले चितवनको भरतपुरमा बुधबार पत्रकार सम्मेलन गरी उत्पादन गर्न लागेको जानकारी दिएको हो । २०७५ देखि निर्माणको थालिएको उद्योगले झुरा र प्रयोगविहीन कागज प्रशोधन गरी पहिलो चरणमा प्याकेजिङका लागि प्रयोग हुने क्राफ्ट पेपर उत्पादन सुरु गरेको जनाएको छ ।

उद्योगका प्रबन्ध निर्देशक राजन पियाले परीक्षण उत्पादन सफल भएको र केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने बताउनुभयो । उहाँले ‘स्वदेशमै लगानी गरौँ, स्वदेशमै आत्मनिर्भर बनौँ, हाम्रो अभियान भन्ने नारासहित उक्त उद्योग स्थापना गरेको जानकारी दिनुभयो ।

पहिलो चरणमा १५० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी स्थापना गरिएको उक्त उद्योग त्यस प्रकृतिको कागज उत्पादन गर्ने नेपालको चौथो उद्योग भए पनि क्षमताको हिसाबले पहिलो भएको दाबी गरिएको छ । हाल नेपालमा सञ्चालनमा रहेका तीनवटा उद्योगले दैनिक १५० टन क्राफ्ट पेपर निकाल्ने क्षमता राख्छन् भने उक्त उद्योग दैनिक १२० टन उत्पादन गर्ने क्षमताको छ ।

स्वदेशमै प्राप्त हुने कच्चा पदार्थमा आधारित रहेको र रोजगार सिर्जना गर्न सक्ने उक्त उद्योगले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने दाबी सञ्चालकको छ । नवलपरासी पूर्व (नवलपुर)को अरुणखोलामा १५ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा विभिन्न पेसा र व्यवसायमा सफल चितवनका चार जना युवाले प्रभु बैङ्कको सहकार्यमा एक अर्ब रुपियाँ लगानी गरेको बताइएको छ ।

केही समयपछि न्युुजप्रिन्ट अर्थात् पीएमटूू कागजसमेत उत्पादन गर्ने लक्ष्य राखेको उक्त उद्योगले हाल दैनिक १५० टन कागजजन्य फोहरबाट १२० टन कागज उत्पादन क्षमता रहेको छ । प्रबन्ध निर्देशक पियाका अनुसार सुरुवातमा क्राफ्ट (खैरो) कागज उत्पादन गर्ने उद्योगले आगामी दिनमा लेख्ने कागजसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सम्मेलनमा दिइएको जानकारीअनुसार नेपालमा हाल दैनिक २५० टन क्राफ्ट पेपरको माग भए पनि नेपालमा १५० टन मात्र उत्पादन हुँदै आएको छ । उक्त उद्योगको सञ्चालनपछि नेपाली बजारलाई आवश्यक पर्ने क्राफ्ट पेपर नेपालमै उत्पादन हुने दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया