इलाम, साउन २८ : बगानमा कार्यरत आफूहरुलाई तोकिएबमोजिम ज्याला नदिएको र जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूर रोजगारदाता÷उद्योगीसँग असन्तुष्ट छन् । प्रत्येक दुईदुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए पनि नियमानुसार उद्योगी नचलेको भन्दै श्रमिकले असन्तुष्टि पोखेका हुन् ।
“कोरोनाको यस्तो महामारीमा समेत चिया श्रमिकले जोखिम मोलेर काम गर्दै आएका छन् तर रोजगारदाताहरु संवेदनशील बनेकै छैनन्”, श्रमिकले निकालेको विज्ञप्तिमा भनिएको छ, “चियाको मूल्य विगतको वर्षभन्दा चार गुणाले वृद्धि भएको छ तर हामीले पाउनुपर्ने सेवासुविधा भने उस्तै छ”, अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटाले भन्नुभयो ।
श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने व्यवस्था छ । विसं २०७७ साउन १ देखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने तथा पत्ती डबली समय अनुकूल वृद्धि गरिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म नियम कार्यान्वयनमा आएको छैन ।
विसं २०७५ साउन १ गतेदेखि वृद्धि भएको दैनिक रु १०७ बराबरको रकम २०७५ साउन १ देखि २०७६ चैत मसान्तसम्ममा भुक्तानी दिइ सक्ने भनी २०७६ वैशाख ३० गते सम्झौता भएकामा हालसम्म पनि नपाएको चिया श्रमिकको गुनासो छ । श्रमिकले नयाँ विषयका लागि रोजगारदातालाई ध्यानाकर्षण गराएको नभई कानूनअनुसार ज्याला दिन अनुरोध गरेको चिया श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताउनुभयो ।
श्रमिकले अहिलेसम्म आफ्नै ज्यालाबाट सामाजिक सुरक्षा कर तिर्दै आएको भए पनि सूचीकृत नभएकाले त्यसबाट पाउने सेवासुविधासमेत नपाएको गुनासो गरेका छन् । आफूले तिरेको करबाट आएको सेवासुविधा पनि रोजगारदाताले नै लिने गरेपछि श्रमिक आक्रमक भएका हुन् । आफ्नो ज्यालाबाट तिरेको करबाट आउने सुविधा आफँैलाई दिनुपर्नेसमेत श्रमिकले माग गरेका छन् ।
“ज्यालाबाट तिर्ने सञ्चय कोष हामी आफैँले पाउनुपर्छ’, सङ्घका केन्द्रीय अध्यक्ष तामाङले भन्नुभयो, “सञ्चयकोष पनि पाइँदैन भने कर तिर्नुको के अर्थ रह्यो र ?” कोरोना महामारीका समयमा काम गर्दा आफूहरूलाई सतर्क रहने सामग्रीबाट समेत रोजगारदाताले वञ्जित गराएको श्रमिकको भनाइ छ । विश्वमै सङ्क्रमण रहेको कोरोनाको प्रभाव आफूमा पनि पर्ने भएकाले त्यसबाट जोगिन सामग्री उपलब्ध गराउन अनुरोध गर्दासमेत उद्योगीले नसुनेको श्रमिकको आरोप छ ।
नेपालमा व्यावसायिक चिया खेती शुरुभएदेखि नै श्रमिक र मालिकबीच टकराव शुरु भएको देखिन्छ । चियाको व्यावसायिक शुरुआत हुँदा त झन् पुरुष, महिला र बालबालिकामै पनि श्रममा विभेद देखिन्छ । श्रमिकले चिया बगानमा न्यूनतम ज्याला रु एकदेखि काम गरेको इतिहास छ । त्यसबेला महिला र पुरुषको ज्याला फरकफरक थियो ।
चियाको व्यावसायिक इतिहास हेर्दा श्रमिकले २०४७ सालसम्म दैनिक रु १७ ज्यालामा चिया बगानमा काम गर्थे । विसं २०४६-४७ को जनान्दोलनपछि चिया बगानका श्रमिकले पनि ज्याला वृद्धिको आवाज उठाउन थाले । उनीहरूले पहिलो पटक न्यूनतम ज्याला वृद्धिको माग राख्दै चिया मालिकसमक्ष मागपत्र बुझाएका थिए । मागपत्रपछि शतप्रतिशत वृद्धि भई उनीहरूको न्यूनतम ज्याला रु ३२ पुगेको थियो ।
यस्तै श्रमिकले प्रत्येक दुईदुई वर्षमा ज्याला वृद्धिको माग गर्दै मागपत्र बुझाउन थाले । मागपत्र नबुझाएसम्म रोजगारदाताले उनीहरूको न्यूनतम ज्याला वृद्धि गरेनन् । श्रमिकको मागपत्र तथा आन्दोलनका कारण २०४९ मा न्यूनतम ज्याला दैनिक रु ४० तोकियो । यसरी नै श्रमिकको ज्याला रु ५४, ६०, ७२, ९५, १०२, १२७, १४५, १५५, १७२, २०२, २२७, २५३ हुँदै २७८ पुग्यो ।
गत वर्षसमेत श्रमिकले आफ्नो ज्याला बढाउन माग गर्दै आन्दोलन गरेका थिए । तीन महीना लामो आन्दोलनपछि रोजगारदाताले श्रम ऐनअनुसारको ज्याला दिने भएपछि श्रमिक काममा फर्र्किएका थिए । रोजगारदाता –श्रमिक, रोजगारदाता –किसानबीचको असन्तुष्टिकै कारण वर्षेनी पटकपटक आन्दोलन हुने गरेका छन् । श्रमिक र किसानले आन्दोलन गरेपछि माग पूरा गर्ने बताइए पनि कार्यान्वयन भने खासै नभएको देखिन्छ ।