विदेशबाट फर्किनेलाई अर्थविद्को सुझाव : नआत्तिनुहोस् नेपालमा कृषिमै छ अथाह सम्भावना

  साउन २७, २०७७

काठमाडौँ, साउन, २७ : नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम जनशक्ति बजारमा आउने गर्छन् । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै बर्सेनि लाखाैँ युवाशक्ति विदेश जाने गर्छन् ।

देशको अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सको ठूलो योगदान छ । तर विश्वमा फैलिँदैगएको कारोना भाइरसले विदेशमा कार्यरत धेरै नेपालीले रोजगारी गुमाउने आकलन गरिएको छ । खाडी मुलुकमा मात्र दुईदेखि तीन लाख नेपालीले रोजगारी गुमाउने अनुमान गरिएको छ ।

रोजगारी गुमाएर स्वदेशमा फर्कने युवालाई कृषि क्षेत्रमा जोड्न सके लाखौँलाई रोजगारी दिन सकिने अर्थविद्हरू बताउछन् । अर्थविद् डा. चन्द्रमणि अधिकारी नेपाल कृषिको अथाह सम्भावना भएको मुलुक भएको बताउनुहुन्छ ।

अब परम्परागत रुपमा कृषिभन्दा पनि नयाँ प्रविधि तरिकाले कृषिमा लाग्नु जरुरी रहेको डा. अधिकारी बताउनुहुन्छ । थोरै लगाएर धेरै उत्पादन गर्ने बाटोतर्फ जान आवश्यक छ । परम्परागत रुपमा लगाउँदै आएको खाद्यान्न मात्रै लगाएर हुँदैन नयाँ किसिमका फलफूल किम्बुलगायत यस्ता धेरै प्रकारका फलफूल लगाउन सकिने उहाँ बताउनुहुन्छ । वनजन्य कृषि गरे पनि थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने डा. अधिकारी बताउनुहुन्छ ।

सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्नको लागि मेकानिकल, इलेक्ट्रोनिक, घरेलु उद्योगबाट उत्पादन हुने सामान उत्पादन गर्न विभिन्न तालिम दिए रोजगारी सिर्जना गर्न सकिने अर्थविद् अधिकारी बताउनुहुन्छ ।

उहाँका अनुसार मानिसको लागि अत्यावश्यक भएको मास्कको मात्र बनाउने तालिम दिएर उद्योग खोले धेरैलाई रोजगारी दिन सकिन्छ । बाहिर गएर जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा कामलाई ठूलो र सानो भन्ने सोच परिवर्तन गर्न जरुरी रहेको अधिकारी बताउनुहुन्छ ।

काम सानो ठूलो हुँदैन, कामको सम्मान गरौँ भनेर सरकारले स्थानीय स्तरमा जनचेतना जगाउन आवश्यक रहेको अधिकारी बताउनुहुन्छ । अब सातै प्रदेशमा कृषि केन्द्र खोल्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । त्यस केन्द्रबाट कृषकका सम्पूर्ण समस्या समाधान हुने गरी काम गर्न आवश्यक रहेको अधिकारी बताउनुहुन्छ ।

सहकारी र निजी क्षेत्रलाई जोड्न सके बजारीकरणको समस्याको समाधान गर्न सकिने अधिकारी बताउनुहुन्छ । अब हिजोजस्तो हलो र बीउ मात्रै दिएर कृषिमा विकास गर्न सकिँदैन नयाँ प्रविधिमा लाग्न आवश्यक छ । मन्त्रालयहरूले पनि कृषि क्षेत्रको बारेमा अध्ययन गरेर मन्त्रालय विभागबीच एक आपसमा समन्वय गर्न आवश्यक रहेको डा. अधिकारी बताउनुहुन्छ ।

कृषकको लागि बीमाको व्यवस्था भएमा भोलिका दिनमा ठूलो मात्रमा कृषि क्षेत्रमा राम्रो मान्छेको लगानी गर्न आउने सङ्ख्या बढ्ने र कृषिमा आत्मनिर्भर बन्न सकिने उहाँ बताउनुहुन्छ । यसैगरी साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष एवम् राष्ट्रिय कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेम पाठक कृषकलाई बजारीकरणको लागि सहकारीमार्फत जोड्न सके बजारीकरणको समस्या धेरै हदसम्म समाधान हुने बताउनुहुन्छ ।

साना लगानी भएका कृषकसँग ठूला बैङ्कसम्म पहुँच रहेको हुँदैन । त्यस्ता किसान कृषि सहकारीसँग जोडिएको अध्यक्ष पाठक बताउनुहुन्छ । कृषिमा लागेर स्वरोजगार बन्ने इच्छाशक्ति भए कृषिबाटै राम्रो कमाइ गर्न सकिने पाठक बताउनुहुन्छ ।

विदेशमा गएका धेरै युवा कोरोनाका कारण बेरोजगार भएर स्वदेश फर्किन बाध्य छन् । उनीहरूलाई आत्मनिर्भर बन्ने प्रमुख आधार कृषि नै हुने उहाँ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया