नेपाल बैङ्कको खुद नाफा दुई अर्ब ५५ करोड

  साउन २७, २०७७

काठमाडौँ, साउन २७ : नेपाल बैङ्क लिमिटेडले गत आर्थिक वर्ष दुई अर्ब ५५ करोड ६४ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ५९ करोड ६७ लाख खुद मुनाफा कमाएको थियो ।

मुलुकमा कोरोना सङ्क्रमणको जोखिम रोक्न जारी गरिएको बन्दाबन्दीले बैङ्कको मुनाफा प्रभावित भएको बैङ्कले आइतबार प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणमा जनाइएको थियो । यसका साथै स्प्रेड दर र फि तथा कमिसन आम्दानी घटेका कारण पनि बैङ्कको मुनाफा प्रभावित भएको र बैङ्कले खराब कर्जा भने घटाएको छ ।

बन्दाबन्दीले बैङ्कको व्यवसाय प्रभावित हुँदाको असर ब्याज आम्दानीमा देखिएको बैङ्कले जनाएको छ । सरकारको निर्देशनअनुसार ब्याज सहुलियत प्रदान गर्दा बैङ्कको खुद ब्याज आम्दानी घटेको छ । जसले गर्दा सञ्चालन नाफासमेत प्रभावित भएको छ ।

बैङ्कको सञ्चालन नाफा तीन अर्ब ५६ करोड ६४ लाख रुपियाँ रहेको छ । जुन अघिल्लो वर्ष चार अर्ब ५१ करोड रुपियाँ थियो । बैङ्कको चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख रहेको जसको जगेडा कोषमा १२ अर्ब ९८ करोड ५४ लाख रुपियाँ, सेयरधनी कोषमा चार अर्ब १२ करोड ५० लाख रुपियाँ र सेयर प्रिमियममा एक अर्ब ७८ करोड ८७ लाख रुपियाँ सञ्चित छ ।

बैङ्कको ब्याज आम्दानी पाँच अर्ब ६१ करोड ८९ लाख रुपियाँ छ । जुन अघिल्लो वर्षको तुलनामा ५७ करोडले कमी हो । गत असार मसान्तसम्ममा बैङ्कले एक खर्ब ४२ अर्ब ११ करोड ४२ लाख रुपियाँ निक्षेप सङ्कलन गरी एक खर्ब सात अर्ब ८१ करोड रुपियाँ कर्जा लगानी तथा ३२ अर्ब अन्य लगानी गरेको छ ।

सो अवधिमा बैङ्कको प्रतिसेयर आम्दानी २६ रुपियाँ ९९ पैसाबाट २२ रुपियाँ ६६ पैसामा झरेको छ । मूल्य आम्दानी अनुपात १०.९९ गुणा तथा प्रतिसेयर नेटवर्थ २६७ रुपियाँ ५० पैसा छ । बैङ्कको चुक्ता पुँजी बढेको र नाफा घटेकाले पनि प्रतिसेयर आम्दानीमा कमी आएको वित्तीय विवरणमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया