इनरुवा, साउन १९ : मोरगंमा कार्यरत एक प्रहरी हबल्दार सुनसरीकै भएर घर आएको र कोरोना पुष्टी भएको घटना सेलाउन नपाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत अर्का एक प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण देखापरेको छ ।
प्रहरी कार्यालय हाता भित्र चमेना गृह संचालन गर्दै आएका पुरुष प्रहरी सङ्क्रमित पाइएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत कोरोना सङ्क्रमणको पुष्टि गरेको छ ।
प्रहरी प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका जवान कोरोना सङ्क्रमित भेटिएसँगै उनीसँगको सम्पर्कका आधारमा कन्ट्याक ट्रेसिङको काम थालिएको छ । सङ्क्रमित प्रहरी जवान परिवार सहित बस्दै आएका व्यक्ति हो । महिला सेलसँगै जोडिएको क्यान्टिनमा अधिकांशजसो प्रहरीहरु चिया नास्ता खाने गर्छन् ।
सङ्क्रमित भेटिएको भनिएका व्यक्ति चिया र नास्ता बोकेर कार्यालयका फाँट सम्मै पुग्ने गरेको र सागसब्जी सहित क्यान्टिनमा आवश्यक सामान किन्न बजार पसल सम्म पुग्ने गरेको पाइएको छ । कार्यालय भित्र कोरोना देखिएपछि थप सावधानी अपनाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रमुख थापाका अनुसार संक्रमित सँगको पत्यक्ष सम्पर्कको आधारमा कम्तिमा ४० जनाको तत्काल स्वाब संकलन गरी परीक्षण गरिने छ ।
कार्यालयमा रहेको जनशक्ति मध्ये सङ्क्रमितसँग सम्पर्कमा नआएकाहरुलाई आलोपालो ड्युटीमा खटाइने गरी तयारी थालिएको थापाले बताउनुभयो । कार्यालय तत्काल सिल गर्नु भन्दा पहिलो चरणमा स्वाब संकलन गरिएकाहरुको नतिजा पश्चात आवश्यक निर्णय गरिने सुनसरी प्रहरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुई दिन अघि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सहित ३० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजना कोरोना पोजेटिभ पाइएका हुन् । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार कार्यालय भित्रको कर्मचारीमा सङ्क्रमण देखिएकाले तत्कालकालागि प्रहरीहरुको मुभमेन्ट बाहिर गराइनु हुँदैन् ।
सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कम्तिमा पनि पहिलो चरणको स्वाब संकलनको रिपोर्ट नआएसम्म प्रहरी कर्मचारीहरुलाई कार्यालय हातामै सुरक्षित राखिनु पर्ने प्रसाई बताउनुहुन्छ । जसकालागि प्रहरीसँग स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको प्रसाईले बताउनुभयो ।
उता सुनसरीको धरानमा पनि एक जनामा कोरोना पुष्टी भएको छ ।
त्यसैगरी इटहरी उपमहानगरपालिकाका एक सवारी चालक सहित इटहरीमा थप तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको ६६ जनाको स्वाब पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।