काठमाडौ, २६ माघ : आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल ओमानविरुद्धको दोस्रो खेलमा हारको बदला लिने दाउमा छ । यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले पराजित भएको थियो ।
ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ओमानविरुद्ध ब्याटिङमा उत्रेको छ । अमेरिकासितको शनिबारको खेलमा जस्तै आजको खेलमा पनि नेपालको ब्याटिङको शुरुआत कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले गरिरहनुभएको छ । विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल र ओमानबीचको पहिलो खेलमा शरद घाइते भएपछि सुवास नेपाली टोलीमा फर्किनुभएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकासितको खेलमा शरद भेषवाकरको स्थानमा ब्याटिङमा उत्रेका सुवासले मात्र तीन रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्रले पनि २१ रन बनाउनुभयो । अहिलेसम्मको खेलमा नेपालको ओपनिङ कमजोर देखिएको छ । नेपाल ओमानसितको खेलमा उक्त कमजोरी सुधार्ने प्रयासमा छ ।
अमेरिकासितको खेलमा नेपालले ४९ रनको स्कोर छँदा पाँच विकेट गुमाएको थियो । कुशल मल्ल र विनोद भण्डारीले नै खेलमा जितको आधार बनाउनुभएको थियो । कुशलले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने विश्व कीर्तिमानसमेत बनाउनुभयो । विनोदले ५९ रन बनाउनुभयो । यसअघि पहिलो खेलमा ओमानले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाउँदै १७९ रनमा समेटिएको थियो । नेपालले ओमानलाई दबाबमा राख्नका लागि २५० रनको स्कोर बनाउनुपर्ने छ । अनि मात्र आजको खेलमा ओमानलाई हराउन सकिने छ ।
नेपाल ब्याटिङका लागि ओपनर सुवास र ज्ञानेन्द्रका साथै पारस खड्का, विनोद भण्डारी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको भर पर्नेछ । छ वटै खेलाडीले नेपाललाई सम्मानजनक स्कोरसम्म पु¥याउन सके ओमानलाई हराउन त्यति असहज हुनेछैन । यसका साथै नेपालको बलियो पक्ष बलिङ नै हो । ओमानसितको पहिलो खेलमा अन्तिम १० ओभरमा फितलो बलिङका कारण नेपाल हारेको थियो । अमेरिकासितको खेलमा भने नेपालले उत्कृष्ट बलिङ ग¥यो । अमेरिकाले स्कोर २९ रन छँदा पाँच विकेट गुमाएको थियो ।
करन केसीले चार विकेट लिनुभयो । यस्तै सुशन भारीले तीन, सन्दीप लामिछाने दुई तथा कुशल मल्लले एक विकेट लिनुभयो । ओमानसितको आजको खेलमा पनि अमेरिकासितको शनिबारको खेलमा जस्तै उत्कृष्ट बलिङ गर्न सके नेपालका लागि जित टाढा हुनेछैन । ओमानले हालसम्म आठ खेल खेलेको छ । उसले छ खेलमा जित तथा दुई खेलमा हारका साथ १२ अङ्क जोडेको छ । ओमान लिगको दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका रहेको छ । नेपालले भने हालसम्म खेलेको दुई खेलमा एकमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ ।
आइसीसी विश्वकप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् ।
उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपरलिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।