दार्चुला, साउन १० : शुक्रबार बेलुकी घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गरेका धन बहादुर ठगुन्नाका छ वर्षीय छोरा जेनिस ठगुन्ना पहिरोमा परेर बेपत्ता भएका छन् । दार्चुलाको महाकाली नगरपालिका-२ बडालीगाउँमा सुख्खा पहिरो जादा नौगाड गाउँपालिका-२ तल्लो सुण्डमुण्डका छ वर्षीय बालक बेपत्ता भएका हुन् ।
शुक्रबार बेलुकीे ४ बजे देखि बेपत्ता बालकको खोजिकार्य जारी रहेपनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले मिलेर खोजि कार्य गरिरहेका छन् । सडक माथिबाट ठूलो सुख्खा पहिरो आएकोले खोजी गर्न ढिला भइरहेको छ ।
ठगुन्ना दार्चुलाको अमटिकर पब्लिक स्कुलमा एलकेजीमा अद्ययनरत विद्यार्थी हुन् । पहिरो आउदा खुट्टामा चोट लागेका नौगाड गाउँपालिकाकै संगिता ठगुन्नाको भने जिल्ला अस्पताल दार्चुलामा उपचार गरिएको छ । जेनिस संगै रहेका नौगाड गाउँपालिकाकै बिमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
दार्चुला जिल्लामा मनसुन सुरु भएदेखि बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का ११ घटना भएका छन् । ती घटनामा दुई पुरुष, एक महिला र एक बालिकाको मृत्यु भएको छ । एक बालक बेपत्ता भएका छन् भने दुई पुरुष, दुई महिला र दुई जना बालिका गरी छ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार बाढी र पहिरोका घटनामा दार्चुलामा आठ घरमा पूर्णरूपमा क्षति पुगेको छ । पहिरोबाट जिल्लामा नौ परिवार विस्थापित भएका छन् । नौँ वटै स्थानीय तहका दर्जनौ परिवार बाढी, पहिरोको उच्च जोखिममा रहेका छन् । नौगाड गाउँपालिकामा मात्रै चार जनाले ज्यान गुमाउनुका साथै करोडौको भौतिक क्षति भएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।