‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’बहुमतले पारित

  १३ घण्टा अगाडि

काठमाडौँ, १६ वैशाख : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’  प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । मङ्गलबार बसेको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

आज विधेयकमाथिको सैद्धानितक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरूले सहमति जनाएका हुन् ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानुनमा रहेका प्राविधि त्रुटीहरूको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभुति र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रस्तुत विधेयकमा रहेका व्यवस्थाबाट प्रचलित कानुनमा रहेका विविध प्राविधिक त्रुटी सुधार हुनुका साथै नेपालको दीगो तथा सन्तुलित विकास र सुशासनको प्रत्याभुति, वातावरण संरक्षण र नागरिकमैत्री शासन कायम गर्ने राज्यको उद्देश्य पूरा गर्न टेवा पुग्ने देखिन्छ ।’’

अब यो विधेयक राष्ट्रियसभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउने छ । सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनको रूपमा कार्यान्वयनमा आउने छ । (रासस)

तपाईको प्रतिक्रिया