हुलाकी सडक : पटक पटक म्याद थपेर पनि अलपत्र

  १९ घण्टा अगाडि

नवलपरासी पश्चिम, ६ वैशाख : नवलपरासीमा पटक–पटक म्याद थप गर्दा समेत हुलाकी सडकको काम पुरा नहुँदा यात्रु र सडक छेउछाउका स्थानीयलाई समस्या भएको छ । जिल्लामा तिन खण्डमा विभाजन गरेर हुलाकी सडक निर्माणको काम भइरहेको छ । दुरीको हिसाबले लामो नभए पनि ठेकेदारको लापरबाहीका कारण सडक विस्तारको काम पुरा हुन सकेको छैन । सडक जीर्ण हुँदा आउजाउमा समस्या भएपछि स्थानीय जनप्रतिनिधि समेत आन्दोलित भएका थिए, काम पुरा गर्ने सर्तमा आन्दोलन फिर्ता लिए पनि काम सुरु हुन सकेको छैन ।

तिन पटक म्याद थप गर्दा समेत बर्दघाटको नारायण चोक देखी पर्यटकीय तथा धार्मिक स्थल त्रिवेणी सम्म जोड्ने १६ किलोमिटर सडकको निर्माण पुरा भएको छैन । २०७६ सालको मङ्सिरमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको हाल सम्म ३८ प्रतिशत मात्र भौतिक प्रगति छ । ब्रजगुरु महालक्ष्मी जेभिले उक्त सडक विस्तारको लागी ४९ करोडमा ठेक्का पाएको थियो । तिन पटक सम्म दिइएको म्याद गत चैत्र २० गते सकिएको छ तर ठेकेदारले काम गर्ने छाँटकाँट देखाएको छैन ।

हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका अनुसार ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । कार्यालयका इन्जिनियर पवित्र मणि आचार्यले विभाग सँगको छलफल अनुसार ठेक्का तोड्नु पर्ने राय सहितको पत्राचार सडक विभागमा पठाइएको जानकारी दिनुभयो । तर विभागले लामो समय भइसक्दा समेत जवाफ दिएको छैन । पटक पटक ठेकेदार पक्षसँग छलफल गरेर काम सुरु गर्ने प्रयास भए पनि ठेकेदारले चासो दिएको छैन । “धेरै पटक ठेकेदार पक्षलाई बोलाएर छलफल गरे पनि काम अगाडि बढ्न सकेन त्यसैले माथिल्लो निकायसँगको छलफलकै आधारमा ठेक्का तोड्ने निष्कर्षमा पुगेर प्रक्रिया सुरु भएको छ,” आचार्यले भन्नुभयो ।

सो सडक खण्ड अन्तरगत पर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले सङ्घीय सरकारका सम्बन्धित सबै निकायमा ध्यानाकर्षण गराउँदा समेत काम नभएको गुनासो गर्नुभयो । “सडकको अवस्थाले स्थानीय जनप्रतिनिधिले गाली खानुपरेको छ, तर जति प्रयास गरे पनि काम अगाडि बढेन । स्थानीय तहलाई जिम्मा दिएको भए हामी बनाउन तयार थियौँ, यादवले भन्नुभयो ।” ठेकेदारसँग हुलाकी राजमार्ग निर्देशनालयका कर्मचारीहरूको मिलेमतो भएको यादवको आरोप छ । यादव यसअघि सडक निर्माणको माग गर्दे अनशन समेत बस्नुभएको थियो ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले सङ्घीय सरकारको तालुक मन्त्रालयसँगको समन्वयमा काम सुरु गर्ने प्रतिबद्धता सहित यादवको अनशन तोडाउनुभएको थियो ।

यसै गरी हुलाकी सडक अन्तर्गत सदरमुकाम जोड्ने परासी नारायण चोक सडक खण्डको १२ किलोमिटर काम थालेको ८ वर्ष पुरा हुँदा समेत पुरा भएको छैन । २०७३ सालमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माण गर्न पटक पटक म्याद उपलब्ध गराइए पनि हाल सम्म ८० प्रतिशत मात्र काम पुरा भएको छ । गत असार मसान्तमै म्याद सकिएको भए पनि काम सक्न ठेकेदारलाई पटक पटक ताकेता गर्दे आएको योजना कार्यालयले जनाएको छ । तर ठेकेदारले बाँकी काम गर्न चासो देखाएको छैन । सो सडक २५ करोडको लागतमा कञ्चनजङ्घा बिरुवा जेभी काठमाण्डौले निर्माणको जिम्मा लिएको हो । सो खण्डमा तिन किलोमिटर सडकको कालोपत्रे गुणस्तरीय नभएको भन्दै भत्काएर पुनः नयाँ कालोपत्रे गर्न भनिएको छ । साथै ठाँउठाँउमा फुटपाथ, नाला आदिको काम पनि पुरा भएको छैन ।

अर्को ९ किलोमिटर लामो प्रतापपुर कठहवा जोड्ने सडक विस्तारमा पनि ढिलासुस्ती छ । बजेट अभावमा काममा समस्या भएको इन्जिनियर आचार्यले बताउनुभयो । उक्त सडक खण्डको भौतिक प्रगति ७४ प्रतिशत रहेको छ । म्याद समाप्त भए पनि असार मसान्त सम्म काम गरेर सक्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । बजेट अभावमा नियमित भुक्तानी गर्न नसक्दा काम पुरा गर्न समस्या भएको पनि योजना कार्यालय कपिलवस्तुको तर्क छ । गत वर्षकै दायित्व भुक्तानी १ अर्ब तिन करोड भएकोमा २४ करोडको मात्र अख्तियारी प्राप्त हुँदा काम गर्न कठिन भएको इन्जिनियर आचार्यले बताउनुभयो ।

नवलपरासीमा ३६ किलोमिटर लामो हुलाकी सडक तिन खण्डमा विभाजन गरेर १ अर्बको लागतमा विस्तार भइरहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया