हनुमान जन्मोत्सवमा तनाव भएपछि पर्सामा ‘कर्फ्यू’ आदेश जारी

  चैत २९, २०८१

वीरगञ्ज (पर्सा), ३ चैत : जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।

वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यू
आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू
आदेश जारी गरिएको बताउनुभयो । “आज भएको तनावको विषयमा आधिकारिक विवरण आइसकेको छैन”, उहाँले भन्नुभयो, “केही सङ्ख्यामा प्रहरी र अन्य व्यक्ति घाइते भएको विवरण छ ।”

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ । जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ ।

यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ ।
यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो ।

तपाईको प्रतिक्रिया