सन् २०३६ ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको ‘दृढ इच्छा’

  चैत २६, २०८१

सियोल, २७ चैत : दक्षिण कोरियाली अधिकारीहरूले यस हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक समितिको मुख्यालयको भ्रमणका क्रममा सन् २०३६ को ग्रीष्मकालीन खेलहरू आयोजना गर्न देशको ‘दृढ इच्छाशक्ति’ व्यक्त गरेको खेलकुद प्रमुखहरूले बुधबार बताएका छन् ।

फेब्रुअरीमा उत्तर जियोला प्रान्त र यसको राजधानी जियोन्जुले सन् २०३६ मा ओलम्पिक आयोजना गर्ने दौडमा दक्षिण कोरियाको उम्मेद्वारका रूपमा सियोललाई हराएका थिए ।

कोरियाली खेलकुद तथा ओलम्पिक कमिटी (केएसओसी) का अध्यक्ष र्‍यु सेउङ–मिनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मङ्गलबार लुजानमा आइओसीका निवर्तमान प्रमुख थोमस बाखलाई भेटवार्ता गरेको थियो ।

“र्‍यु र उहाँका सहकर्मीहरूले सरकार, खेलकुद समुदाय र स्थानीय सरकारसँग ओलम्पिक आयोजना गर्न दृढ इच्छाशक्ति रहेको कुरा प्रस्तुत गर्नुभएको छ”, केएसओसीले एक विज्ञप्तिमा भनेको छ, “विशेषगरी उहाँहरूले जियोन्जुको ऐतिहासिक र सांस्कृतिक सम्पदा र दिगो पूर्वाधारमा आधारित आयोजक सहरका रूपमा उपयुक्ततामा जोड दिनुभयो ।”

सियोलले सन् १९८८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको थियो ।

धेरै देशले सन् २०३६ को खेलहरू आयोजना गर्न चासो व्यक्त गरेका छन् । तिनीहरूमध्ये भारत र दक्षिण अफ्रिका जस्ता सम्भावित पहिलो–पटकका आयोजकहरू पनि छन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया