चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

  चैत २६, २०८१

काठमाडौँ, २७ चैत : हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाएका हुन् । कप्तान रोहित पौडेलले ३७ रन जोडे । उनले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आसिफ शेखले ३३ रनको योगदान दिँदा बसिर अहमदले ३० रन बनाए । नेपालले अतिरिक्त १६ रन प्राप्त गर्यो । कतारका लागि मुजीब–उर–रहमानले दुई विकेट हात पारे ।

त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए । उनले ५४ बलमा ५ चौका र २ छक्काको मद्दतले ५४ रन बनाए । शाहजैब जमीलले ३१, मुजीब–उर–रहमानले २०, मोहम्मद इरशादले १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाए । कतारका लागि रिफाइ थेरुवाथले छ र जसिम खानले चार रनको योगदान दिए । कतारले अतिरिक्त पाँच रन प्राप्त गर्यो ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट हात पारेका थिए ।

अफगानिस्तानको यु–१९ ले टस जित्यो

नेपाल यु–१९ र अफगानिस्तानको यु–१९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । मुलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ ।

यसअघिको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो । दोेस्रोे खेलमा पनि अफगानिस्तानले नेपाललाई एक रन हराएको थियो । लगातार दुई खेल हारेको नेपाल आज सान्त्वना जितेको खोेजीमा छ ।

तपाईको प्रतिक्रिया