हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

  चैत १०, २०८१

हुम्ला, ११ चैत : जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिनुभयो ।

नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी रु १८०, कागुनोको चामल प्रतिकेजी रु १८०, सिमी प्रतिकेजी रु १७०, तिते फापर प्रतिकेजी रु १००, मिठे फापर प्रतिकेजी रु १२०, उवा प्रतिकेजी रु १२० र कोदो प्रतिकेजी रु १०० मूल्य निर्धारण गरिएको छ ।

चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा रु पाँचले बढाइएको छ भने सिमीमा प्रतिकेजी रु १० बढाइएको छ ।

यी सबै रैथाने बालीको खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ । हुम्लामा रैथाने बालीको आधिकारिक रुपमा मूल्य निर्धारण गर्न सुरु गरिएको यो तेस्रो वर्ष हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया