वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला

  चैत ०७, २०८१

अञ्जली थापा
हेटौँडा (मकवापुर), ८ चैत

यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उहाँहरूले खेती गर्नुभएको हो ।

पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ । आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन् । आफ्नो जमिन नभएकी दलित समुदायकी चम्पामाया परियारले खेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।

पशुपति सामुदायिक वन उपभोक्ता समूहले गठन गरेको लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया बिहान सबेरै घरको काम सकेर गोठका गाईवस्तुलाई घाँस पराल दिन सामुदायिक वनभित्रको हाइटेन्सनमुनि पुग्नुहुन्छ । जडीबुटी आयआर्जन समूह नै बनाएर उक्त समूहका सदस्यसहित गरिएको खेतीले उहाँलाई आत्मसन्तुष्टिसँगै आर्यआर्जनका लागि बाटो बनाइदिएको उहाँ बताउनुहुन्छ । घरमा पालिएका गाईबाख्रालाई पनि जडीबुटीखेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गर्नुहुन्छ । आयआर्जनका मुख्यस्रोत जडीबुटीखेती बनाउन कम्मर कसेर लाग्नुभएकी परियारलाई सामुदायिक वनको हाइटेन्सनमुनि गरिएको जडीबुटी र घाँसपातसँगको लगाव र झुकावले घर बस्नै नसक्ने बनाएको छ ।

नौ वर्षअघिदेखि वनस्पति कार्यालयबाट उपलब्ध गराइएकोे सर्पगन्धाबाट सुरु गरिएको खेती पछि गएर उहाँले समूहसँग मिलेर बेसार र अदुवाखेतीको पनि विस्तार गर्नुभएको छ । उहाँहरूले उत्पादन गरेको जडीबुटी, अदुवा, बेसार बिक्री गर्न खासै समस्या नभए पनि बीउपुँजी बढाउन पाए हुने भन्ने उहाँलाई लागेको छ । पानी पर्दा ओत लाग्न र खेतीलाई अस्थायी रूपमा भित्र्याउन खेती भइरहेको स्थानमा नै टहरा निर्माण गर्नुभएको छ । उक्त टहरा निर्माणका लागि बागमती प्रदेशसभा सदस्य भारती पाठकको आर्थिक सहयोग, समूहको श्रमदानबाट सम्भव भएको चम्पामायाको भनाइ छ ।

चम्पामायालाई अहिलेको समूहकी अध्यक्ष चम्पा बन्नका लागि निकै सङ्घर्ष गर्नुपरेको थियो । सानो उमेरमा दमाई भनेर हेपिनुभएकी उहाँ अहिले समुदायकै प्रेरणा बन्नुभएको छ । समूहमा लागेर साधारण लेखपढ गर्न, बोल्न र नेतृत्व विकास गर्नुभएकी उहाँको जीवन अहिले जति सुन्दर देखिन्छ उहाँले भोग्नुभएको दुःखको कथा पनि त्यत्तिकै कहालीलाग्दो छ । सानो छँदा उहाँलाई हेप्नेमात्र होइन, नागरिकता बनाउँदा पनि उहाँको थर दमाई लेखिएको सम्झँदै तत्कालीन नागरिकता वितरण गर्ने अधिकारीप्रति आक्रोश पोख्नुभयो । उहाँको मात्र होइन, उहाँका श्रीमान्को नागरिकतामा पनि थर दमाई उल्लेख गरिएको छ । सोही कारण आफ्ना छोराछोरीको नागरिकतामा पनि दमाई लेखिएको बताउँदै उक्त कारणले छोराछोरीमा हीनताबोध गराएको उहाँ सुनाउनुहुन्छ ।

उक्त क्षेत्रका महिलाको आदर्श बन्नुभएकी उहाँले यही समाजमा रहन बस्न निकै सङ्घर्ष गर्नुपरेको सम्झनुहुन्छ । मकवानपुरको मकरीमा जन्मनुभएकी परियारको पारिवारिक तथा पुख्र्याैली काम भनेको कपडा सिलाउनु थियो । तर अन्य समुदायमा छोराछोरीबीच विभेद भएजस्तै उहाँको घरमा पनि उहाँलाई खाना बनाउन सिकाइन्थ्यो भने उहाँका दाजुभाइलाई कपडा सिलाउन सिकाउने गरेको उहाँ सम्झनुहुन्छ । खेत जोत्ने, किसानी गर्ने परिवारमा विवाह भएर गएपछि खेत जोत्ने, वन जाने, मेला जाने मेरो दैनिकी नै भयो । त्यही क्रममा गर्भवती हुँदा समेत रूखबाट लडेर थला परेँ, छोरासमेत गुमाएको उहाँले बताउनुभयो ।

मकवानपुरको सरिखेतबाट मनहरीमा बसाइँ सरेर आएपछि उहाँ अनेमसङ्घमा आबद्ध हुनुभयो । उहाँले सोही समयबाट प्रौढ शिक्षा पढेर साधारण लेखपढ गर्न जान्ने भएको बताउनुभयो । सामुदायिक वनमा सदस्य बन्दा सुरुमा दलित महिला कोटामा प्रवेश गरेको भए पनि दलित भनेर दयाको आधारमा सीमित हुन नचाहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दलित त मलाई समुदायले बनाएको हो म के बन्ने भन्ने त मेरो निर्णय हो जस्तो लाग्यो, त्यसपछि सिक्ने र गर्ने काम केही छोडिनँ । बोल्ने र काम गर्ने आँट भने यो सामुदायिक वनको सदस्य भएपछि बन्यो ।”

बिहानबेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिला अहिले सक्षम र व्यस्त हुन थालेको चम्पामायाको भनाइ छ । सामुदायिक वनले जीवन फेरिएको उदाहरण आफ्नो समूह रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “खेती गरौँ जमिन छैन, अरू काम गर्न लगानी छैन, यस्तो अवस्थमा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो कार्यक्रमले हामीलाई परिवर्तन नै गरिदिएको छ ।” सानो लगानीबाट बाख्रापालन सुरू गरिएको र घाँसका लागि पनि टाढा जान नपरेको उहाँको भनाइ छ ।

हाल सामुदायिक वनले ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम ल्याएको छभने यस कार्यक्रमले आफूहरूलाई जीवन निर्वाहका लागि निकै मद्दत पुगेको चम्पामायाको धारणा छ । पशुपति सामुदायिक वनमा जडीबुटी, डिपाट सामुदायिक वनमा प्राङ्गारिक मल र तेजपत्ता, सुनाचुरी सामुदायिक वनमा तेजपत्ता र कागतीखेती गरेर महिलाहरूले वनलाई आर्थिक स्रोतको माध्यम बनाइरहेका छन् । (रासस)

तपाईको प्रतिक्रिया