फोहर प्रशोधन गर्दै चन्दननाथ

  ११ घण्टा अगाडि

जुम्ला, ३ चैत : जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ । नगरभित्र सङ्कलित फोहरजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउन प्रशोधन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरभित्र सङ्कलित प्लाष्टिक र सिसाजन्य फोहर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरी काम सुरु गरिएको बताउनुभयो । नगरपालिकाले सिसा र प्लाष्टिकजन्य फोहरको वास्तविक अवस्था अध्ययन गर्न गत पुस १४ देखि १८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो ।

प्रारम्भिक प्रतिवेदनका आधारमा नगरका होटल, कार्यालय, स्वास्थ्य संस्था, व्यावसायिकस्थल, धार्मिकस्थल, विद्यालय र घरपरिवार गरी १६० स्थानबाट फोहर सङ्कलन गरिएको थियो । जसमो ७९ प्रतिशत फोहर घरपरिवारबाट, नौ प्रतिशत स्वास्थ्य संस्थाबाट, सात प्रतिशत धार्मिकस्थलबाट र पाँच प्रतिशत व्यापारिक क्षेत्रबाट फोहर निस्कने गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले जानकारी दिनुभयो ।

नगरपालिकाको सहरी क्षेत्रमा रहेका घरधुरीबाट दैनिक औसत एक केजी फोहर उत्पादन हुने गरेको उहाँले बताउनुभयो । दैनिक छदेखि आठ टन फोहर उत्पादन हुने नगरपालिकामा १६ प्रतिशत फोहर प्लाष्टिकजन्य रहेको छ ।
नगरपालिकाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग प्लाष्टिक र सिसाजन्य वस्तु पुनःप्रयोग गर्नका लागि रु आठ लाख ९८ हजार ३५० मा उपकरण खरिद गरेको छ । यसका लागि गत पुसको पहिलो साता अपरेटर तालिम प्रदान गरिएको थियो । तालिमपश्चात दुई जना अपरेटरले नियमित रूपमा उपकरण सञ्चालनमा ल्याएको नगरपालिका नगरप्रमुख राजुसिंह कठायतले बताउनुभयो ।

नगरमा बढ्दै गएको फोहरको उचित व्यवस्थापन गर्न विभिन्न ठाउँमा धाउनुपरेको अवस्थामा महावीर पुनसँगको परामर्शपछि प्लाष्टिक टुक्रयाउने मेसिन जिल्लामा ल्याउन सफल भएको नगरप्रमुख कठायतको भनाइ छ ।

नगरवासीलाई फोहर वर्गीकरण गरी व्यवस्थापन गर्न आग्रह गर्दै घरभित्रका फोहरलाई बाहिर निकाल्न र नगरपालिकाले त्यसलाई उपयोग गर्ने योजना बनाएको छ । प्लाष्टिकजन्य फोहरलाई कम्प्याक्ट बिम बनाएर थोरै ठाउँमा राख्न सकिन्छ भने फर्निचर तथा अन्य पुनः प्रयोग योग्य सामग्री बनाउन सकिन्छ । प्लाष्टिकजन्य फोहरबाट हुने वातावरणीय प्रदूषणका विषयमा नगरवासीलाई सचेत बनाउने लक्ष्य रहेको नगर उपप्रमुख रामदेवी खड्काले बताउनुभयो ।

उपकरण सञ्चालनमा केही चुनौती पनि देखिएका छन् । उपकरण सञ्चालन तथा मर्मत खर्चिलो छ । मर्मतका आवश्यक सामग्री जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेकोे नगरउपप्रमुख खड्काले बताउनुभयो ।

फोहरमैला व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले नगरपालिकाले फोहर व्यवस्थापनमा ठूलो लगानी गरे पनि राजस्व सङ्कलनमा चुनौती रहेको बताउनुभयो । नगरपालिकाले लगानी र सेवा प्रभावकारी बनाइरहे पनि उठ्नुपर्ने राजस्व सङ्कलन गर्न कठिनाइ भइरहेको छ । प्लाष्टिक र सिसाजन्य फोहरको सङ्कलन र व्यवस्थापनलाई व्यवस्थित गर्न कार्यविधि आवश्यक देखिएको उहाँको भनाइ छ ।

फोहर व्यवस्थापनमा चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षको फागुन २७ गतेसम्म दुई लाख ५१ हजार ६०० राजस्व सङ्कलन गरेको छ ।

तपाईको प्रतिक्रिया