वैज्ञानिक र प्रविधियुक्त शिक्षा प्रणालीबाटै मुलुकको समृद्धि

  २३ घण्टा अगाडि

गोठगाँउ (मोरङ), २७ फागुन : प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वैज्ञानिक र उच्च प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि सरकारले विश्वविद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

विश्वविद्यालयहरूले अगाडि सारेको शिक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधियुक्त बनाउन सकेमात्र मुलुकको समृद्धि अभियानले सफलता पाउने बताउनु हुँदै त्यसको सुधारका लागि सरकारले प्रतिबद्धताका साथ सहयोग गर्ने बताउनु भएको छ ।

मोरङको गोठगाउँमा मङ्गलबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले विश्वविद्यालयले प्रविधिसँग जोडिएको, अनुसन्धानमुखी तथा रोजगारमूलक शिक्षालाई प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विश्वविद्यालयले अगाडि सारेको शैक्षिक सुधार अभियान, भौतिक पूर्वाधारकोे सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वाञ्चल विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न सरकारको पूर्ण साथ रहने प्रधानमन्त्री ओलीको भनाइ छ । 

समारोहमा दीक्षित भएका विभिन्न सङ्कायका विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेश पलायन नभई मुलुकको विकासमा लाग्न आग्रहसमेत गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘‘म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु, अब तपाईंहरू विदेश पलायन हुनेतर्फ सोच्ने होइन, अब मुलुकको समृद्धिका लागि कम्मर कसेर देश बनाउन लागि पर्नुहोस ।’’

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै आफ्नो सीप, ज्ञान र दक्षता प्रयोग गरी मुलुकको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

‘हामीले शिक्षा प्राप्त गरेर मात्र होइन, सिकेको ज्ञानलाई व्यवहारमा उतारेर देशको समृद्धिमा टेवा पुर्‍याउनुपर्छ,’ उहाँको स्पष्ट भनाइ छ । 

प्रधानमन्त्री ओलीले दीक्षित भएका सबै शिक्षित जनशक्तिलाई देशभित्रै अवसरहरू खोज्न, सिर्जनशील उद्यमशीलता अँगाल्न र मुलुकको समग्र विकासमा योगदान दिन आग्रह गर्नुभयो । 

‘हामीले शिक्षालाई रोजगारसँग जोड्नुपर्छ । यहाँ सिकेको ज्ञान र सीपलाई प्रयोग गरी स्वदेशमै उद्यमशील बन्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया