चितवन, २६ फागुन : जिल्लामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा करिब एक हजार मेट्रिकटन तोरी उत्पादन वृद्धि भएको हो ।
कृषि विकास कार्यालय चितवनका अनुसार यस वर्ष १८ हजार ५६७ दशमलब ९४ मेट्रिकटन तोरी उत्पादन भएको छ । कार्यालयका कृषि अर्थ विज्ञ निर्मल पौडेलका अनुसार यस वर्ष १४ हजार १७४ हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो । गत आर्थिक वर्षमा १३ हजार ६४२ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको थियो । सो वर्ष १७ हजार ५९८ दशमलव १८ मेट्रिकटन तोरी उत्पादन भएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७९/०८० मा १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा १९ हजार एक सय आठ मेट्रिकटन तोरी उत्पादन भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा १२ हजार दुई सय १८ मेट्रिकटन तोरी उत्पादन भएको थियो । आव २०७८/०७९ मा १३ हजार दुई सय ७० क्षेत्रफलमा तोरी खेती गरिएकामा १४ हजार आठ सय ६२ मेट्रिकटन तोरी उत्पादन भएको थियो । क्रमशः तोरी उत्पादन र खेती गर्ने क्षेत्रफल विस्तार भएको हो ।
कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार पछिल्लो समयमा जिल्लाका किसान नगदेबालीतर्फ आकर्षित हुँदै गर्दा तोरीको क्षेत्रफल र उत्पादन दुबै वृद्धि भएको हो । उहाँले भन्नुभयो, “निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा जङ्गली जनावरले क्षति नपु¥याउने भएकाले पनि तोरी खेतीतर्फ किसानको आकर्षण बढेको हो ।” तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत कारण थिए । कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टरमा झरेको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बजारमा तेलको मूल्य वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले किसानलाई तोरी खेती तर्फ आकर्षित गरेको कँडेल बताउनुहुन्छ ।
चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ । चितवन तोरीका लागि प्रख्यात जिल्ला हो । केही वर्षअघिसम्म क्रमशः घट्दै गएको तोरी उत्पादन पुनः बढ्न थालेको हो ।