बाजुरा,२६ फागुन : जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको भीरबाट लडेर मृत्यु भएकाको उद्धारका लागि गएका आठ जनाको सकुशल उद्धार गरिएको छ । आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका–२ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो ।
भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका आठ जना स्थानीयसहित सुरक्षाकर्मी रातभर भीरको फेदीमा रहेको कर्णाली नदीको किनारमा रोकिएकाको र र्याफ्टिङमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
भीरबाट लडेर मृत्यु भएका भण्डारीको उद्धारमा गएका स्थानीय र प्रहरीको आज बिहान हिमाली गाउँपालिकाको धुलाचौरबाट र्याप्टिङ ल्याएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार राति भीरबाट लडेर एक जनाको मृत्यु भएको खबर आए पनि राति भइसकेको र भीरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरू घटनास्थलमै बास बसेको बताउनुभयो । आज अहिले कर्णाली नदीमा र्याप्टिङको सहायताले सबैको सकुशल उद्धार गरिएको छ ।
माछा मार्न गएका बेला भण्डारी हाँडे भीरबाट लडेका हुन् । मृतकको कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।