सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

  १० घण्टा अगाडि

तिनाउ (रूपन्देही), २० फागुन : गृहमन्त्री रमेश लेखकले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने काममा सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ।

उहाँले दिगो शान्ति, सुशासन, विकास र समृद्धि वर्तमान सरकारको प्राथमिकता भएको बताउनुभयो। अध्यागमन कार्यालय बेलहिया, रूपन्देहीको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले सेवा प्रवाहलाई सरल, सहज बनाउँदै देशमा लगानीमैत्री वातावरण बनाउने काममा सरकार लागि परेको बताउनुभएको हो।

‘‘देशभित्रै व्यवसायमैत्री वातावरण बनाउने र समग्रतामा भन्नुपर्दा आर्थिक विकास र उन्नतिलाई अगाडि बढाउने हाम्रा प्राथमिकता हुन्’’, उहाँले भन्नुभयो, ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने, बलियो पार्ने र संविधानको रक्षा गर्ने यो सरकारको लक्ष्य हो।’’

गृहमन्त्री लेखकले बेलहिया देशको प्रमुख अन्तर्राष्ट्रिय नाकाको रूपमा स्थापित भइरहेको बताउनुभयो। ‘‘अन्तर्राष्ट्रिय आवातजावतको नाकालाई थप व्यवस्थित गर्नका लागि नव निर्मित भवनको उद्घाटन गरेका छौं’’ उहाँले भन्नुभयो।

संसारभर शान्तिको सन्देश फैलाउने गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा विदेशीले भ्रमण गर्ने इच्छा राख्दै आएको उहाँको भनाइ छ। उहाँले अध्यागमन कार्यालय देशको ऐना भएको बताउदै सेवाग्राहीलाई विनम्रतापूर्वक सेवा प्रदान गर्न प्रहरी र कर्मचारीलाई निर्देशन दिनुभयो। गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया