नेपाल आउँदा खुशी छु : बुफोन

  फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : इटालीलाई सन् २००६ को फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन आइतबार नेपाल आइपुग्नुभएको छ ।

काठमाडौँमा जारी केपी ओली कप फुटबलको मुख्य पाहुनाको रुपमा बुफोनलाई नेपाल निम्त्याईएको हो । इटालीका महान फुटबलर बुफोनले नेपाल आउन पाउँदा आफु निकै खुशी भएको र सफना पूरा भएको बताउनुभएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बुफोनले आफुलाई नेपाल आउने अवर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद समेत दिनुभयो ।‘‘सुन्दर देश नेपाल आउन पाउँदा उत्साहित भएको छु । आजको दिन म र मेरी श्रीमतीका लागि अवस्मरणीय रहेको छ । केपी ओली कपको फाइनल हेर्नका लागि निकै उत्साहित छु,’’ बुफोनले भन्नुभयो ।

बुफोनलाई आइतबार बिहान केपी ओली कप आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका पदाधिकारीले त्रिभुवन विमान स्थलमा स्वागत गरेका थिए । बुफोन नेपाल आउने विश्व फुटबलकै ठूलामध्येका एक खेलाडी हुनुहुन्छ ।

सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच वटा विश्वकप खेल्ने बुफोनले इटालीका लागि एक सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले इटालीको लागि मात्र ८० खेलमा कप्तानी गर्नुभएको छ ।

केपी ओली कपको फाइनलमा सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेलका लागि दुवै टोली तयार रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तान र प्रशिक्षकले बताएका छन् ।

फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कपमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताके विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया