सात वर्षमा पनि बन्न सकेन सडक र नाला

  फागुन १८, २०८१

सप्तरी, १८ फागुन : सप्तरीको राजविराज नगरपालिकाभित्र विभिन्न सडक तथा नाला निर्माण कार्य सात वर्षमा पाँचौँ पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न भएन । कान्छाराम कन्ट्रक्सनले सात वर्षदेखि सडक तथा नाला निर्माणको काम अलपत्र पारेको हो ।

ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनले तोकिएको समयमा सम्पन्न गर्न नसक्दा सात वर्षमा पाँचौँ पटक म्याद थप गर्दा पनि निर्माण कार्य अलपत्र छन् । सडक र नाला निर्माण अलपत्र छाडिँदा सडकमा खाल्डाखुल्डीको कारण दुर्घटनाकाे जोखिम बढेर गएको स्थानिय बताउँछन् ।

कान्छाराम कन्ट्रक्सनले राजविराजस्थित सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ८१ करोड ३६ लाख ८६ हजार ३ सय ५६ रुपियाँ ६५ पैसा बराबरका दुई वटा ठेक्का लिएको छ । दुवै ठेक्कामा ७ वर्षमा पटक–पटक म्याद थप गर्दा पनि ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन नसकेको आयोजना कार्यालयले जनाएको छ ।

नगरभित्रका विभिन्न वडामा सडक कालोपत्रे, स्तरोन्नतिका लागि डाँफे-कान्छाराम, देव एन्ड सायर जेभी मैजुबहाल काठमाडौंले पहिलो प्याकेज अन्तर्गत भ्याटबाहेक ३९ करोड ७३ हजार ९ सय २६ रुपियाँ बराबरको ठेक्का सम्झौता गरेको थियो ।

२०७४ पुस १६ गते सम्झौता गरी कार्यादेश पाएको निर्माण कम्पनीले ७ वर्ष हुँदा पनि काम सम्पन्न गर्न सकेको छैन । म्यादभित्र निर्माण सम्पन्न हुन नसकेपछि पहिलो पटक २०७७ पुस १६ गतेदेखि ०७८ असार १५ गतेसम्मका लागि आयोजना प्रमुखले म्याद थप गरेका थिए । दोश्रो पटक २०७८ असार १६ गतेदेखि २०७८ चैत २५ गतेसम्म, तेस्रो पटक २०७८ चैत २६ देखि २०७९ चैत २५ सम्म,चाैथाे पटक २०७९ चैत २६ देखि २०८२ असार २२ सम्मका लागि म्याद थप गरेका छन् ।

हालसम्म भौतिक प्रगति ६० प्रतिशत रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुरेन्द्रकुमार साहले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँले कान्छाराम कन्ट्रक्सन कम्पनीले हालसम्म भ्याटबाहेक १८ करोड ८५ लाख ५८ हजार २ सय ४५ रुपियाँ भुक्तानी पाइसकेको बताउनुभयो ।

राजविराज भित्रको विभिन्न वडाका सडक तथा नाला निर्माणको अर्को ठेक्का कान्छाराम-डाँफे जेभीले ४२ करोड ३६ लाख १२ हजार ४ सय २९ रुपियाँमा पाएको छ । २०७५ माघ २१ गते सम्झौता भएको निर्माण कम्पनीले २०७७ साउन २१ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो । तर यो ठेक्काको म्याद अहिलेसम्म पाँचौ पटक थप भइसकेको छ ।

पहिलोपटक काम पूरा नभएपछि २०७७ साउन २१ देखि २०७७ पुस ५ सम्म पहिलोपटक म्याद थप गरेको थियो । त्यसपछि २०७७ पुस ६ देखि २०७८ असार ५ सम्म दोस्रोपटक, २०७८ असार ६ देखि २०७८ चैत ३० सम्म तेस्रोपटक, २०७९ वैशाख १ देखि २०७९ चैत ३० सम्म चौथोपटक र २०८० वैशाख १ देखि २०८२ असार ३० सम्म पाँचौँ पटक म्याद थप गरेको छ ।

यो ठेक्कामा निर्माण कम्पनीले हालसम्म २० करोड ७१ लाख ९६ हजार २ सय ७७ रुपियाँ भुक्तानी पाइसकेको आयोजनाका प्रमुख साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

पछिल्लो समय यो दुवै ठेक्काको निर्माण रोकिएपछि काम अलपत्र परेको आयोजना प्रमुख साहले बताउनुभयो । नगरको विभिन्न स्थानमा सडक र नाला खनेर छाडिएका कारण आवतजावतमा जोखिम बढनुका साथै धूलो,खाल्डाखुल्डीले नगरवासी जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । आयोजना प्रमुख साहका अनुसार पटक–पटक म्याद थप गर्दै काम सम्पन्न गर्न ताकेता पत्र दिँदा पनि निर्माण कम्पनीले अहिले नालाको काम सुरु गर्न तयारीमा जुटेको बताउनुभयो ।

आयोजना प्रमुख साहले कान्छाराम कन्ट्रक्सनका सञ्चालक पूर्णबहादुर तामाङ सङ्घीय सरकारमा मन्त्री भएपछि सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजलाई २०८० चैत १ गते पत्र पठाउँदै दीपक थिङ नामक व्यक्ति ठेक्काको आधिकारिक व्यक्ति तोकेको जानकारी दिनुभयो । उहाँले विगत एक वर्षदेखि कान्छाराम कन्ट्रक्सनले ठेक्काको काम रोके बताउनुभयो ।

ठेकेदार कम्पनीले तोकिएको समयमा ठेक्काको निर्माण कार्य रोके पछि अहिले नगरपालिकाको बाटोघाटो अस्तव्यस्त भएको राजविराज नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष जयनारायण मण्डलले सञ्चारकर्मीलाई बताउनुभयो ।

उहाँले काम अधुरो छोडदा आवतजावतमा जोखिम हुनुका साथै प्रर्यावरणमा प्रदूषण बढ्नुका साथै सवारी दुर्घटनामा बृद्घि समेत भएको बताउनुभयो । उहाँका अनुसार अधुरो काम पूरा गर्नेतर्फ ध्यान नदिदा नगर अस्तव्यस्त अवस्थामा छाडिदा नागरिक सास्ती खेप्न बाध्य रहेको बताउनु भयो ।

यसैबिच राजविराज बस पार्क र हटिया कम्पलेक्स निर्माण चैत्र महिना सम्ममा सम्पन्न भए पछि हस्तान्तरण हुने जानकारी आयोजना प्रमुख साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया