काँक्रेविहार (सुर्खेत), १४ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले देशको विकास गर्ने पार्टी भएको बताउनुभएको छ । आज सुर्खेत लेकबँेसी नगर कमिटीले आयोजना गरेको दुईदिने नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेले सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने गरेको बताउनुभयो ।
एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मुख्यमन्त्री कँडेलको दाबी छ । एमालेमा विगतमा सदस्य धेरै भएपनि चुनावमा मत कम प्राप्त गरेकाले आफ्नो सदस्यता आफैँं नवीकरण गर्ने नीति लिएको हुँदा जनतालाई ढलमलाएर होइन बुझाएर पार्टी सदस्य बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।
कर्णालीको विकास गर्ने जिम्मेवारी एमालेको काँधमा आएको उहाँले बताउनुभयो । सत्तासाझेदार दलहरुलाई साथमा लिएर एमालेले कर्णाली बनाउने अभियानमा लागेको उहाँले बताउनुभयो ।