घरमा आगलागी, १८ भेडाबाख्रा र ९० कुखुरा मरे

  ९ घण्टा अगाडि

रुकुमपश्चिम, १४ फागुन : रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १४ चाखलडाँडास्थित रुद्रबहादुर बिष्टको घरमा आगलागी भएको छ । बुधबार बिहान भएको आगलागीबाट बिष्टको ६ कोठे (ढुङगा र माटोले बनेको, टिनले छाएको) दुई तले घर ध्वस्त भएको छ । आगलागीले पशुचौपाया मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आगलागीमा परेर दुई गोरु, १४ बाख्रा, चार भेडा र ९० वटा कुखुरा मरेका छन् ।

घरको तत्लो तलामा बाँधेर राखेका पशु चौपायामध्ये दुई गाई र पाँच बाख्रा जलेर घाइते रहेका छन् भने अन्यको मृत्यु भएको छ । यसका साथै घरमा रहेको लत्ताकपडा, अन्नपात, कागजपत्र सबै जलेर नष्ट भएको छ । आगलागीबाट करिब १२ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।

बिष्टका छोरा बलजित बिष्टका अनुसार विद्युतको तार सर्ट हुन गई आगलागी भएको हो । घरमा कोही नभएको बेला आगलागी भएकाले मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

प्रहरी टोली घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरेको छ । अहिले आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया