चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति

  ९ घण्टा अगाडि

इलाम, १४ फागुन : गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा आगलागी हुँदा आठ करोड रुपियाँ बढीको क्षति भएको छ ।

आगलागीबाट चार करोड रुपियाँ मुल्य बराबरको तयारी चिया र चार करोड मूल्य बराबरको चिया बनाउने मेसिन तथा अन्य भौतिक संरचनामा क्षति भएको कारखाना सञ्चालक गृष्म सुब्बाले बताउनुभयो ।

राति करिब साढे ९ बजेतिर सुरु भएको आगो नियन्त्रणमा आउन नसक्दा पूर्ण रूपमा कारखाना जलेर ध्वस्त भएको छ । आज बिहान ४ बजे तिरमात्र आगो नियन्त्रण भएको प्रत्यक्षदर्शीले बताएका छन् । कारखानाभित्र तयारी चियाको स्टक धेरै भएकाले पनि आगो नियन्त्रण गर्न कठिनाइ भएको थियो ।

दिनभरी कारखानामा मेसिन मर्मत तथा घर थप्नका लागि काम गरेर बेलुका आराम गर्न निस्कने समयमा केही पड्किएजस्तो आवाज आएर हेर्दा आगो सल्किसकेको कारखाना सञ्चालक शरद सुब्बाले बताउनुभयो । विद्युत् सर्ट भएर आगो सल्किएको हुन सक्ने सुब्बाको अनुमान छ ।

आगो निभाउने क्रममा शरदको पनि शरीरमा आगोले पोलेको र चोट लागेर उहाँ घाइते हुनुभएको छ । कारखानामा रहेका प्रायः सबै मेसिन तथा तयारी चिया जलेर नस्ट भएका छन् । ट्रस्ट र जस्तापाताले बनेको कारखानाको दुई तले भवन काम नलाग्ने भएको छ ।

आगो नियन्त्रणका लागि स्थानीयवासी र प्रहरीले प्रयास गरे पनि आगो नियन्त्रण बाहिर गएको थियो । इलाम नगरपालिकाबाट गएको दमकल घटनास्थल पुग्दासम्म कारखाना सबै जलेर सक्किएको थियो ।

नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा परिचित शरद सुब्बाले करिब दस वर्ष यता सञ्चालन गर्दै आउनुभएको थियो । ह्वाइट टी, ओलाङ, ग्रिन, गोल्डन, गोल्डेन पल, गोल्डेन रिङलगायतका ३५ भन्दा बढी प्रकारका चिया तयार गरेर शरदले नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्स, चीन लगायत तेस्रो मुलुक निर्यात गर्दै आउनुभएको थियो ।

काठमाडौँमा आयोजित ‘नेपाल टि च्यालेन्ज २०२४’ मा ‘वेस्ट टी मेकर’ घोषित हुनुभएका शरदको यो कारखानाबाट उच्च गुणस्तरको करिब वार्षिक ४० हजार किलो तयारी चिया उत्पादन हुने गरेको थियो ।

कारखाना ध्वस्त भएपछि आज बिहान निरीक्षणमा पुग्नुभएका इलाम नगरपालिकाका प्रमुख केदार थापाले यो अकल्पनीय र अपूरणीय क्षति भएको प्रतिक्रिया दिनुभएको छ । ‘यो उद्यमीहरू क्षति मात्र होइन, यसले किसान र यहाँका श्रमिकको रोजीरोटी खोसिएको छ ।’ प्रमुुख थापाले भन्नुभयो ‘परिश्रम, मेहनत सबै नस्ट भएको यो ज्यादै दुखलाग्दो अवस्था छ, अब कारखानालाई पुरानै अवस्थामा सञ्चालनमा ल्याउन सबैले पहल गर्न आवश्यक छ ।’

यो कारखानामा करिब दुईसय किसानले हरियो पत्ती बिक्री गर्ने गरेका थिए । कारखाना सञ्चालक शरदले पनि चियाको गुणस्तरअनुसार हरियो चियाको प्रतिकिलो ६५ रुपियाँदेखि एक हजार पाँचसय रुपियाँ प्रतिकिलोसम्म किसानलाई मूल्य दिने गर्नुभएको थियो । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया