बिहानै म्याग्दीमा दुई पटक भूकम्पको धक्का महसुस

  ७ घण्टा अगाडि

गलेश्वर(म्याग्दी),१४ फागुन : पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो ।

चार रेक्टरस्कल भन्दा तलको भूकम्पको धक्का महसुस भए पनि आत्तिनुपर्ने अवस्था नहुने तर सतर्कता आवश्यकता रहेको रिमालको भनाई छ । यो पराकम्प नभई छुट्टै भूकम्प हो ।

बिहान सुतिरहेको अवस्थामा दुई पटक धक्का महसुस भएको धवलागिरि गाउँपालिका–७ ताकमका गोपाल आचार्यले बताउनुभयो । भूकम्पको धक्का महसुस मालिका गाउँपालिका र धवलागिरि गाउँपालिकाका विभिन्न बस्तीमा भएको छ। जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।

पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुई दशक यता ४ देखि ५ रेक्टर स्केलका भूकम्पको २० पटकभन्दा बढी धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । म्याग्दीको धौलागिरि हिमालको फेद हुँदै एउटा भूकम्पको फल्ट रहेकाले पश्चिम म्याग्दीमा साना धक्का महसुस भइरहेको छ । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया