नेपालगञ्जमा हात्तीपाइलेविरुद्धको औषधि सेवन सुरु

  फागुन ०५, २०८१

नेपालगञ्ज, ५ फागुन : नेपालगञ्जमा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन सुरु भएको छ ।

वडा नं ८ बाट स्थानीयलाई सो रोगविरुद्ध औषधि सेवन गराई आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आफूले पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जानकारी दिँदै औषधि ढुक्क भएर सेवन गर्न आग्रह गर्नुभयो ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रुपमा देखिएकाले औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न आग्रह गर्दै औषधि सेवन गर्न नआएकालाई घरघरमा पुगेर पनि औषधि सेवन गराइने बताउनुभयो । बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि सेवन गरेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत नपुगेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

जिल्लाको डुडुवा र नरैनापुरमा यही फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको प्रमुख शाहीले जानकारी दिनुभयो । बाँकेमा कुल दुई लाख ५७ हजारभन्दा बढीलाई सो औषधि खुवाइनेछ ।

नेपालगञ्जमा एक लाख ६४ हजार ९६, डुडुवामा ४२ हजार १७४ र नरैनापुरमा ४२ हजार ३६९ र बैजनाथको ४ नं वडामा आठ हजार ९६२ गरी कुल दुई लाख ५७ हजार ६०१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया