रामपुर (पाल्पा), २७ माघ : रामपुर नगरपालिका भित्र कृषि तथा पशुपालनमार्फत सफलतापूर्णक व्यवसाय गर्ने किसानलाई प्रोत्साहन गर्दै पुरस्कृत गरिएको छ । किसानले गर्दै आएका व्यवसायका आधारमा उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको हो ।
रामपुरमा सञ्चालित चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा आयोजित प्रदर्शनीमा उत्कृष्ट वस्तु र नगरभित्र व्यावसायिक रूपमा कृषि तथा पशुपालनमा आवद्ध किसानलाई एकैसाथ छनोट गरी पुरस्कृत तथा सम्मान गरिएको नगरको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो ।
प्रदर्शनीमा पशुपालनतर्फ गाईभैँसीपालनमा रामपुरका प्रथम भैँसीपालक किसान मीना अर्याल, द्वितीय दीपक ढकाल, तृतीय नारायणप्रसाद भट्टराई, बङ्गुरपालनमा प्रथम नमनाथ कुमाल, द्वितीय गोविन्दबहादुर कामी र तृतीय अनिता हमाल हुनुभएको छभने बाख्रापालनतर्फ प्रथम नारायणप्रसाद भण्डारी, द्वितीय तुलबहादुर मल्ल, तृतीय लीलाबहादुर श्रेष्ठ र मुकुन्दराज पोखरेल सान्त्वना हुनुभएको छ ।
यस्तै तुलबहादुर थापालाई उत्कृष्ट पशुपन्छीपालकका रूपमा पुरस्कृत गरिएको गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने किसानलाई क्रमशः नगद रु तीन हजार एक सय, रु दुई हजार एक सय, रु एक हजार पाँच सय र रु एक हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट हुन सफल किसानले भने रु दुई हजार पाँच सयसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रदर्शनीको कृषितर्फ फलफूल तथा नर्सरी विधामा रामपुरका दिलबहादुर थापा उत्कृष्ट हुनुभएको छ । तरकारी बालीमा निस्दी–२ का यमबहादुर मश्राङ्गीको गोलभेँडा प्रथम, रामपुरका शिव बस्यालको मुला द्वितीय, दासीकुमारी सुनारीको कृषिउपज तृतीय र गीता भट्टराई, चित्रा देवकोटा, सावित्रा पङ्गेनी, सुन्दरप्रसाद देवकोटाले उत्पादन गर्नुभएको कृषिउपज सान्त्वना भएका छन् ।
मसलाबालीतर्फ प्रथम रामपुरका जीतादेवी नेपालीको मसला, द्वितीय मणिराम अधिकारीको धनियाँ र तृतीय गङ्गा बस्यालको सोँफ भएको छ । गानो तथा आलुबालीमा प्रथम दिल्लीमाया पोखरेलको तरुल, द्वितीय निस्दी–१ बाकामलाङ्का दानबहादुर रजालीको पिँडालु, तृतीय रामपुरका कमला रेग्मीको जनकदेव आलु तथा सान्त्वनामा नन्दबहादुर कुमालको चुल्ठे तरुल, सीता भट्टराईको पिँडालु, घनश्याम बस्यालको कृषिउपज भएका छन् ।
फलफूलतर्फ प्रथम रामपुरकी भीमा ढकालको केरा, द्वितीय पशुपति रेग्मीको रुखबयार, तृतीय सिजन रेग्मीको इमिली, सान्त्वनामा खड्गबहादुर साठीघरेको सुन्तला, गीता खनालको उखु र विष्णुमाया ढकालको केरा भएका छन् ।
कृषितर्फ उत्कृष्ट हुने किसानलाई नगद रु दुई हजार पाँच सय तथा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु दुई हजार पाँच सय, रु दुई हजार एक सय, रु एक हजार पाँच सय र रु एक हजारसहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको कृषि शाखा प्रमुख गैरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार रामपुर नगरका प्रत्येक वडाका तीन–तीन जना गरी ३० जना किसानलाई सम्मान गरिएको छ । निरन्तर व्यावसायिक कृषिमा लागेका किसानलाई वडाका जनप्रतिनिधिको सिफारिसमा उत्कृष्ट छनोट गरिएको उहाँले बताउनुभयो ।
कृषि शाखा प्रमुख गैरेका अनुसार वडा नं १ मा यमबहादुर श्रेष्ठ, सुदीपसिंह ठकुरी र दुर्गाबहादुर मल्ल, वडा नं २ मा मीनबहादुर थापा, दानबहादुर थापा र रामबहादुर थापा, वडा नं ३ मा उदय खनाल, कुलप्रसाद घिमिरे र ज्ञानुमाया थापा, वडा नं ४ मा बाछादली मियाँ, शेरबहादुर राना र मनबहादुर राना, वडा नं ५ मा एकराज गौतम, अग्नि रेग्मी र शशिराज डोटेल उत्कृष्ट कृषकका रूपमा छनोट भई सम्मानित हुनुभएको छ ।
त्यस्तै वडा नं ६ मा तुल्सी भण्डारी, दुल्लभ पोखरेल र गीता घिमिरे, वडा नं ७ बाट भविश्वर पाठक, अम्बिका ढकाल र शालिकराम (जानकी) भट्टराई, वडा नं ८ मा राजेश सेन ठकुरी, छमबहादुर हिटान र पदमराज खनाल, वडा नं ९ बाट जीतबहादुर दिशा, प्रकाश श्रेष्ठ र झपिन्द्र साठीघरे, वडा नं १० मा जनार्दन पन्त, रोमादेवी सारु र यमबहादुर सारु उत्कृष्ट भई पुरस्कृत तथा सम्मानित हुनुभएको उहाँले जानकारी दिनुभयो ।
रामपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ, कृषि, पशुपन्छी तथा स्थानीय उत्पादन प्रवर्द्धन उपसमितिका संयोजक सूर्यप्रसाद रेग्मीले आज यहाँ आयोजित मेला समापन कार्यक्रममा किसानलाई नगदसहित प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।