तानसेन, २६ माघ : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल पाल्पाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्नुहुँदै उहाँले सदन नबसेका कारणले देशमा तत्काल देखा परेको समस्या समाधान गर्न अध्यादेश ल्याउने संसदीय अभ्यास भए पनि सरकारले त्यसलाई कुल्चेको आरोप उहाँले लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सदन नसबेको बेलामा देशमा देखिएको विशिष्ट समस्या तत्कालै समाधान गर्न अध्यादेश ल्याउने संसदीय परम्परा हो, तर देशमा अहिले त्यस्तो परिस्थिति नभएको बेलामा अध्यादेश ल्याउनु देश र जनताको हितविरुद्ध छ ।’’
सामान्य अवस्थामा पनि अध्यादेश ल्याएकाले माओवादीलगायतका प्रतिपक्षी दलहरूले त्यसको विरोध गरेको श्रेष्ठले बताउनुभयो । उहाँले विचार मिल्नेसँग एकता र विचार नमिल्ने पार्टीहरूसँग कार्यगत एकता गरेर देशको राष्ट्रिय एजेण्डामा सँगै अघि बढ्ने जानकारी दिनुभयो ।
श्रेष्ठले अहिलेको मुख्य राष्ट्रिय कार्यभार सुशासन, समृद्धि र सामाजिक न्याय स्थापित गर्नु रहेको बताउँदै जनतालाई परिवर्तनको अनुभूति दिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अबको राजनैतिक परिवर्तन आम जनताले अनुभूति गर्ने खालको हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेता श्रेष्ठले नेपाली श्रमिक युवालाई स्वदेशमा जबसम्म बस्ने र फर्काउने अवस्था रहँदैन, तबसम्म राजनैतिक परिवर्तनको औचित्य नहुने जिकिर गर्नुभयो । सरकारले राष्ट्रिय कार्यभार पूरा गर्ने सन्दर्भमा ल्याएका एजेण्डामा आफूहरू छलफल गर्न तयार रहेको श्रेष्ठको भनाइ छ । हिजो माओवादीको नेतृत्वमा भएको सरकारले सुशासन, समृद्धि र जनआकाङ्क्षा पूरा गर्ने गरी काम गरेपनि वर्तमान सरकारले त्यसलाई छाडेको उहाँको दाबी छ ।
एमाले र कांग्रेस सम्मिलित सरकार बनेपछि भ्रष्टाचारीलाई जसरी जोगाउने काम भएको छ, त्यसलाई आफूहरूले प्रतिवाद गर्ने नेता श्रेष्ठले बताउनुभयो । आफूहरू सरकारमा भएका बेला अगाडि बढाएको भुटानी शरणार्थी काण्डको पूरा अनुसन्धान नसकिएको अवस्था रहेकाले त्यसलाई पूर्णता दिन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
अहिले जनताले चाहेअनुसारको पार्टी बनाउन माओवादीले देशभर नयाँ अभियान थालेको बताउनुभयो । माओवादीलाई समयअनुसार जनताको पार्टी बनाउन पार्टी पुनर्गठनको अभियान सुरु भएको माओवादी नेता श्रेष्ठको भनाइ छ । देशको हित र जनताको चाहना अनुसारको पार्टी बनाउन माओवादी रूपान्तरण नभई नहुने र त्यसका लागि माओवादीले आफू बद्लिने र देशलाई बदल्ने अभियान सुरु गरिसकेको उहाँले जिकिर गर्नुभयो । गोरखापत्र अनलाइन